समाचार

दार्चुलामा चितुवा मृत फेला

By खबरहब

March 06, 2023

दार्चुला– दार्चुलाको शैल्यशिखरमा एक चितुवा मृत फेला परेको छ । शैल्यशिखर नगरपालिका –२ स्थित कालिपातली र थामुको सीमा छुट्टाउने घट्टेखोलामा चितुवा मृत अवस्थामा फेला परेको स्थानीय शंकर जोशीले जानकारी दिए ।

पाँच फिट तीन इन्च लम्बाइ र दुई फिट एक इन्च चौडाइ रहेको चितुवा सोमबार मृत अवस्थामा भेटिएको डिभिजन वन कार्यालय गोकुलेश्वरका प्रमुख दुर्गा अवस्थीले बताए । चितुवाको टाउकोमा गहिरो चोट लागेको उनले बताए । 

चितुवा पानी पिउन घट्टेखोलामा आउँदा भीरबाट लडेर मरेको हुन सक्ने अनुमान गरिएको छ । चितुवालाई प्रहरी, सवडिभिजन वन कार्यालयको टोली, जनप्रतिनिधि र स्थानीयको रोहबरमा गोकुलेश्वर अस्थायी प्रहरी पोष्ट नजिक गाडेको बताइएको छ ।