देश/प्रदेश

पोखरामा रङसँगै रमाए विदेशी पर्यटक

By खबरहब

March 06, 2023

काठमाडौँ – डेनमार्कबाट आएकी सोफी पोखरा लेकसाइडमा निकै हर्षित देखिन्थिन। उनको अनुहारभरि रङ दलिएको थियो । सेतो टिसर्टमा सजिभएकी सोफीको कपडा पनि रङले पोतिएको थियो । नेपालको रङको पर्व निकै राम्रो लागेको उनको प्रतिक्रिया थियो । “रङ खेल्ने पर्व निकै राम्रो लाग्यो । मलाई पनि खेल्न मन लाग्यो अनि खेलिरहेको छु”, उनल भनिन्, “योभन्दा पहिला नेपाल आउँदा यस्तो रमाइलो भएको छैन । अहिले निकै खुसी छु ।”

सोफीसँगै अन्य तीन साथी थिए। उनीहरू पनि होलीमा रङसँग रमाइ रहेका थिए । उनको साथी केराङले रमाइलो गरिरहेको बताईन । नेपालको यो पर्वको बारेमा डेनमार्क फर्किएपछि अरु साथीलाई पनि सुनाउने बताईन। “पक्का पनि डेकमार्क गएपछि यसका बारेमा अरु साथीलाई भन्नेछु, उनीहरू पनि पक्का खुसी हुनेछन्”, केराङले भनिन् ।

अमेरिकाबाट पोखरा घुम्न आएका टोमेरले रङसँग रमाउँदा निकै आनन्द र खुसी लागेको प्रतिक्रिया दिए । उनले संस्कार र संस्कृतिको सम्मान गर्नसके राम्रो हुने बताए । होटल सङ्घ पोखराका महासचिव राजेन्द्र ढकालले विभिन्न देशका नागरिक एकै ठाउँमा हुने अवसर प्रदान गरेकामा खुसी व्यक्त गरे। “कोरोना महामारीपछि यो वर्ष पर्यटकको उल्लासमय उपस्थिति रह्यो । विदेशी पर्यटक एकअर्कालाई रङ दलेर आत्मियता र माया साटिरहेको हामीले पायौँ”, ढकालले भने ।

कोरोनापछि विस्तारै पर्यटकको सङ्ख्या बढ्दै गएको उनको प्रतिक्रिया थियो । समय समयमा हुने यस्तो गतिविधिले पर्यटकीय गतिविधि बढ्ने महासचिव ढकालले बताए । अहिले पोखरामा होटलको अकुपेन्सी ३० प्रतिशतको हाराहारीमा रहेको उनले जानकारी दिए ।