काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य बिहीबार घटेको छ । बुधबार २ हजार रुपैयाँले बढेर ऐतिहासिक रेकर्ड राखेको सुन बिहीबार भने तोलामा ८०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ८०० रुपैयाँले घटेर १ लाख १० हजार २ सय रुपैयाँ कायम भएको छ । यसै गरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ६५० सय रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, बुधबार छापावाल सुन अहिलेसम्मकै उच्च १ लाख ११ हजार रुपैयाँ कायम भएको थियो । यसै गरी, तेजावी सुनको भाउ तोलाको १ लाख १० हजार ४५० रुपैयाँ निर्धारण भएको थियो ।
बिहीबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर तोलाको १४ सय ३५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १४ सय ४० रुपैयाँ कायम रहेको थियो ।