तस्विर- अलराबिया न्युज

अन्तर्राष्ट्रिय

रुसको उत्तरी काकेससमा तीन प्रहरीको मृत्यु, आठ जना घाइते

By खबरहब

April 06, 2023

मस्को– रुसको उत्तरी काकेसस गणतन्त्रको इन्गुशेटियामा आतङ्वाद विरोध अभियानका क्रममा भएको तीन जना प्रहरीको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन् । 

निजी घरमा लुकेर बसेका अतिवादीले प्रहरीमाथि गोली चलाउँदा उक्त हताहति भएको रुसी समाचार समितिले जनाएका छन् । चेचन्यासँग सीमा जोडिएको इन्गुशेटिया मुसलमानहरूको बाहुल्य भएको गणतन्त्र हो । सन् दुई हजारको प्रारम्भतिर सामान्य रहेको उक्त क्षेत्रको शान्तिसुरक्षाको अवस्था विगत केही वर्षयता जटिल बन्दै गएको छ । 

सरकारी सुरक्षाकर्मीले इन्गुशेटिया क्षेत्रको जयजिकोभ युर्ट गाउँमा अभियान जारी राखेका तथा आक्रमणकारीको खोजी गरिरहेका कानुन कार्यान्वयन निकायलाई उद्धृत गर्दै समाचार समितिहरूले बताएका छन् । 

प्रारम्भमा प्रहरीले उक्त समूहलाई बल प्रयोग नगरी नियन्त्रणमा लिन खोजेको थियो तर अतिवादी समूहले अन्धाधुन्ध गोली चलाउँदा सुरक्षाकर्मीले ज्यान गुमाएका बताइएको छ । इन्गुशेटियाको सिमानामा रहेको प्रहरी चौकीमा पनि अतिवादी समूहले आक्रमण गरेको थियो ।

 उक्त आक्रमणमा परी दुई जना प्रहरी घाइते भएका छन् । शोभियत सङ्घको विघटनपछि उत्तरी काकेसस क्षेत्रमा इस्लामिक अतिवादी समूहहरू सक्रिय छन् ।