राजनीति

सरकारका सय दिन उपलब्धीहिन भएको सांसद पन्तकाे टिप्पणी 

By खबरहब

April 06, 2023

काठमाडौं– नेकपा (एमाले) का सांसद रघुजी पन्तले सरकारका सय दिन उपलब्धीहिन भएको टिप्पणी गरेका छन् ।

आज  प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सरकारले सय दिनमा देखिने गरी कुनै काम गर्न नसकेको आरोप लगाएका हुन् । उनले भने, ‘सरकारको १०० दिनको उपलब्धि भ्रष्टाचार हो, दिशाहीनता हो, अन्योल हो।’ 

सरकारले १०० दिनको उपलब्धि भनेर ३७ बुँदा सार्वजनिक गरे पनि त्यसमा उल्लेखनीय केही पनि नभएको पन्तले बताए ।

‘३७ बुँदा पढ्दा के पढेको केही पनि बुझिँदैन । एउटासँग विवाह गर्यो अनि अर्कासँग पोइला गयो । वरिपरि आठ नौ भाइ जम्मा गरेर टिकेको यो सरकार सय दिन नाघिसक्दा मन्त्रिपरिषद् त बनाउन सकेको छैन’ उनले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले आफ्नो सय दिनको कार्यकालमा नेपालमा कति बालबालिका जन्मे, कति मिलिलिटर पानी पर्यो र कति पटक घाम लाग्यो लगायतका कुरा लेख्न छुटाएको उनको टिप्पणी छ ।