देश/प्रदेश

चार स्थानमा पुल निर्माण गर्ने सडक विभागको तयारी

By खबरहब

June 06, 2023

काठमाडौँ– सडक विभागले आगामी वर्ष चार स्थानमा पुल निर्माण गर्न प्रक्रिया अघि बढाउने भएको छ । 

काठमाडौँ उपत्यकाको बागमती नदी, चितवनको नारायणी नदी, कास्कीको विजयपुर र रूपन्देहीको तिनाउ नदीमा अत्याधिक पुल निर्माणका लागि अध्ययन थालिएको सडक विभाग, पुल महाशाखाका प्रमुख नरेशमान शाक्यले बताए ।  

 उनले भने , ‘विश्वका कतिपय सहर पुलका कारण चिनिन्छन्, त्यसैगरी यी पुल पनि ती ठाउँको परिचय झल्किने गरी बनाउन लागिएको छ ।’ विशेषतासहित पुल निर्माणको योजना बनाइएको शाक्यको भनाइ छ । 

 नयाँ बनाइने चारवटै पुलमा स्थानीय मौलिकता समेट्ने गरी डिजाइन गरिने उनले बताए । काठमाडौँमा मन्दिर वा कुनै कलात्मक कुरा, चितवनमा गैँडा र अरु ठाउँमा पनि त्यहाँको विशेषता समेट्ने योजना रहेको छ । 

तिनाउ नदीमा विश्व बैंकको ‘सिग्नेचर पुलमा एक्सेस प्रोग्राम’ अन्तर्गत पुल निर्माण गर्न लागिएको छ । पोखरामा पुल निर्माणका लागि विभागले अन्तर्राष्ट्रिय विज्ञको सहयोगमा डिजाइन तयार गर्ने योजना बनाएको छ ।