देश/प्रदेश

सुनकोशीमा बेपत्ता सिटिइभिटीको गाडी फेला, दुई शव पनि भेटिए

By खबरहब

June 06, 2023

काठमाडौँ- सुनकोशी नदीमा खसेर बेपत्ता भएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को गाडी फेला परेको छ ।

सिन्धुलीको खुर्कोटस्थित सुनकोशी नदीमा गत शुक्रबार बेपत्ता भएको सिटिइभीटीको गाडीमा दुई जनाको शव पनि फेला परेको छ । गाडीमा फेला परेको शवको पहिचान अझै हुन बाँकी रहेको बताइएको छ ।

सिटिइभिटीका दुई निर्देशक र अधिकृत चढेको बा १ झ ७४६७ नम्बरको जिप शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट सुनकोशी नदीमा खसेको थियो ।

भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सिटिइभिटीको जिपमा प्रशासन शाखाका निर्देशक तनहुँको भानु–९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासीको प्रगति–७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय विद्युत् प्राविधिक भानु पौडेल सवार थिए । चालक कृष्ण चौधरी घाइते अवस्थामा आफैँ पौडिएर निस्किएका थिए ।