फाइल तस्वीर

राजनीति

प्रतिनिधिसभा बैठक : रोजगारी सिर्जनामा ध्यान दिनुपर्नेमा सांसदको जोड

By खबरहब

June 06, 2023

काठमाडौँ– प्रतिनिधिसभाका सांसदहरुले मुलुकको आर्थिक समृद्धिका लागि कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आव २०८०-८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उनीहरूले रोजगारी सिर्जना तथा स्थानीय स्रोत साधनको समुचित प्रयोगमा ध्यान दिनुपर्ने बताए । 

उद्योग, खानी, कृषि, पर्यटन, सडक पूर्वाधार, विपद् व्यवस्थापनका बारेमा बजेटले प्राथमिकता दिनुपर्ने उनीहरूको भनाइ थियो । उनीहरूले निर्यात बढाउन र आयात घटाउने नीति लिइनुपर्ने बताए । सांसदहरुले छोटी भन्सार कार्यालयको निर्माण र साधारण खर्च घटाउनका लागि उच्च पदस्थ सरकारी पदाधिकारीको तलबमा केही प्रतिशत रकम कटौती गर्न सुझाव दिए । 

सांसद माधव सापकोटाले कृषि क्षेत्रप्रति किसानलाई आकर्षित गर्न सक्नुपर्ने बताए । ‘हाम्रो कृषि किन निर्वाहमुखी मात्र भइरहेको छ, कृषि पेशा अङ्गाल्नुमा नगरिकले किन गर्व गर्दैनन्, यसको कारण खोज्नुपर्छ’, उनले भने । सांसद भानुभक्त जोशीले बजेटमा विकास खर्च कम र साधारण खर्च धेरै बढेको भन्दै साधारण खर्च कटौतीतर्फ सरकारको ध्यानाकर्षण गराए ।  

सांसद अब्दुल खानले सीमा नाकामा छोटी भन्सारको निर्माण गरेर चुहावट रोक्दै राजस्वमा वृद्धि गर्न सुझाव दिए । सांसद रामप्रकाश चौधरीले भूमिहीन दलित, सुकुम्बासी एवं अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपत्र वितरण गर्दा जग्गा बिक्री गर्न नपाइने व्यवस्था गर्न सुझाव दिए ।

सांसद विराजभक्त श्रेष्ठले बजेटले मुलुकको प्राथमिकता किटान र कृषिको व्यवसायिकीकरणमा ध्यान दिन नसकेको बताए । सांसद बुद्धिमान तामाङले साधारण खर्च घटाउने ठोस योजना बजेटले प्रस्तुत गर्न नसकेको बताए । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २४ गते बिहान ११ बजे बस्नेछ ।