देश/प्रदेश

कोशी प्रदेशमा सरकार गठनको दाबी पेस गर्ने समय आज सकिँदै

By खबरहब

July 06, 2023

काठमाडौँ– कोशी प्रदेशमा सरकार गठनको दाबी पेस गर्न प्रदेश प्रमुखले दिएको समय आज सकिँदैछ ।

विश्वासको मत नपाएर एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेपछि प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनका लागि दाबी पेस गर्न आज साँझ ५ बजेसम्मको समय दिएका थिए । 

९३ सदस्यीय कोशी प्रदेशमा बहुमतका लागि ४७ प्रदेश सांसदको आवश्यकता पर्दछ । कांग्रेसको नेतृत्वमा रहेको गठबन्धनले सभामुखसहित ४७ प्रदेश सांसदको समर्थनमा सरकारमा दाबी पेस गर्ने तयारी गरेको छ ।

तर, एमाले र राप्रपाले भने सरकार गठनको दाबी पेस गर्दा सभामुखले हस्ताक्षर गर्न नपाउने बताइरहेका छन् ।

संविधानले नै सभामुखलाई तटस्थ जिम्मेवारी दिएकाले संसदमा भएको कुनैपनि निर्वाचनमा बराबर मत भएको अवस्थामा मात्रै सभामुखले मत हाल्न पाउने उनीहरूको दाबी छ । 

गठबन्धन दलका शीर्ष नेताहरूको केही दिनअघि बालुवाटारमा बसेको बैठकले कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय गरेको थियो ।

प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका १ गरी ९३ सांसद छन् ।