ब्रेकिङ स्टोरी

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

By खबरहब

July 06, 2023

काठमाडौँ– सत्तारुढ सात राजनीतिक दलको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा समसामयिक राजनीतिक परिस्थिति, कोशी प्रदेशको मुख्यमन्त्री चयन, संसदको अवरोध लगायतका विषयमा छलफल भइरहेको छ ।

प्रधानमन्त्रीको ‘दिल्ली परस्त’ अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दलले संसद अवरोध गर्दै राजीनामा माग गरेको भोलिपल्ट सत्तारुढ गठबन्धनको बैठक बसेको हो । 

बैठकमा एमालेको अवरोधका कारण हिजोको संसद बैठक स्थगित हुँदा मिटरव्याजविरुद्धको अध्यादेश निष्क्रिय भएको विषयमा पनि छलफल भइरहेको एक नेताले जानकारी दिए ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपाका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी, लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमतका अध्यक्ष सीके राउत लगायतका नेताहरू सहभागी छन्  ।