देश/प्रदेश

गुडिरहेको बसमा करेन्ट प्रवाह हुँदा दुईजनाको मृत्यु

By खबरहब

July 06, 2023

दाङ– दाङको तुलसीपुरबाट रोल्पातर्फ गुडेको बसमा करेन्ट प्रवाह हुँदा बसमा यात्रा गरिरहेका दुईजनाको मृत्यु भएको छ।

राप्ती राजमार्ग दाङअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा रा १ ख ८३४ नम्बरको बसमा ३३ केभी प्रसारण लाइनको तारले छुदा करेन्ट लागेर दुईजना यात्रुको घटनास्थलमै मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा रोल्पा गंगादेव गाउँपालिका वडा नम्बर ४ का ७२ वर्षीय बालराम डाँगी र उनकै छोरा ४२ वर्षीय टोपलाल डाँगी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिए ।

घटनामा  बस धनी सल्यान छत्रेश्री गाउँपालिका–६ का अन्दाजी महेन्द्र वली गम्भीर घाइते भएका छन् । उनको अवस्था चिन्ताजनक रहेको छ । उनलाई उपचारका लागि कपुरकोट पठाइएको प्रहरीले जनाएको छ । बसमा २५ यात्रु रहेको बताइएको छ । अन्यको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।