फाइल फोटो

राजनीति

देउवा समूहबाट सभापतिको उम्मेदवार म बन्न सक्छु : नेता डा. शशांक कोइराला

By खबरहब

September 06, 2023

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाका तर्फबाट उनको समूहको सभापतिको उम्मेदवार आफू बन्नसक्ने बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै कांग्रेस केन्द्रीय सदस्य कोइरालाले यस विषयमा टुङ्गो भने नलागिसके जानकारी दिए ।

विमानस्थलमा पत्रकारले पछिल्ला दिनमा पार्टी सभापति देउवाका तर्फबाट आगामी महाधिवेशनमा शशांक कोइराला उम्मेदवार बन्न सक्ने चर्चा चलिरहेको विषयमा प्रश्न गरेपछि उनले यो प्रतिक्रिया दिएका हुन् । नेपाली कांग्रेसको आगामी महाधिवेशनमा सभापति देउवाको समूहबाट उम्मेदवार तपाईँ हुने सम्भावना कत्तिको छ ? भन्ने प्रश्नमा उनले भने, “सम्भावना छ, किन छैन ? नहुने भन्ने के छ ?”

पार्टीका साथीहरुसँग सल्लाह गरेर मात्रै सभापतिको उम्मेदवारीको विषयमा निर्णय लिने उनको भनाइ थियो । तर यस विषयमा आफूलाई सभापति देउवाले भने केही नभनेको उनको भनाइ थियो ।

उनले भने “सभापतिजीले केही नभनेको भए पनि पार्टीका साथीहरुको विचार यही नै हुन सक्छ । पूर्वदेखि पश्चिमसम्म साथीहरुसँग भेटघाट गरौँ, उहाँहरुको विचार सुनौँ, अनि मात्रै निर्णय गर्छु ।”