फाइल तस्वीर

देश/प्रदेश

केही तत्वले समाजमा साम्प्रदायिकता भड्काउन खोजे : मन्त्री किराती

By खबरहब

September 06, 2023

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालमा पछिल्लो समय केही तत्वले नेपाली समाजमा साम्प्रदायिकता भड्काउन खोजेको आरोप लगाएका छन् ।

खेमराज गुरुङ ट्रष्टले बुधवार काठमाडौंमा आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै मन्त्री किरातीले नेपालमा पछिल्लो समय केही तत्वले नेपाली समाजको साम्प्रदायिकता भड्काउन खोजेको भन्दै इतिहासदेखि अहिलेसम्म नेपाली समाजले साम्प्रदायिकता स्वीकार नगरेको बताए ।

उनले नेपाल सबै जाति, धर्म र संस्कृतिको साझा फूलबारी रहेको भन्दै केही तत्वले साम्प्रदायिकताको मुद्दा उठाएर हात हाल्न नसक्ने बताए । नेपाली सबैले सहिष्णुता कायम गरी साम्प्रदायिकता खारेज गरी सुन्दर फूलबारीको रक्षा गर्न आवश्यक रहेको उनले बताए ।

संसारको अग्लो शिर सगरमाथा, गौतम बुद्ध, पशुपति, हिमाल, पहाड, तराई, फरक पहिरन, भाषा, संस्कृति नै नेपालीको मौलिकता रहेको भन्दै मन्त्री किरातीले नेपालको संस्कृति र प्रकृति हीरा र सुन भएकाले त्यसलाई नेपालले विश्व बजारमा बेच्न र ब्रान्डिङ गर्न सक्नुपर्ने उल्लेख गरे ।

मन्त्री किरातीले पद, पैसाको पछि लागेपछि नेपालीले दुःख पाएको समेत टिप्पणी गरे । उनले श्रष्टाको उचित सम्मान भएमात्रै राष्ट्रको सम्मान हुने भन्दै सबै श्रष्टाको योगदानका लागि आवश्यक पहल गर्ने बताए ।