फाइल तस्वीर

राजनीति

भूकम्प प्रभावित क्षेत्रमा अत्यावश्यक वस्तुको सहज व्यवस्था मिलाउन संसदीय समितिको निर्देशन

By खबरहब

November 06, 2023

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिले जाजरकोट र रुकुम पश्चिमलगायत भूकम्प प्रभावित क्षेत्रमा औषधिसहित दैनिक उपभोग हुने अत्यावश्यक वस्तुको सहज व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकले व्यक्ति र संस्थागत रुपमा प्राप्त राहत र सहयोग एकद्वार प्रणालीबाट वितरणको प्रभावकारी व्यवस्था मिलाउन पनि भनेको छ । समितिले भूकम्पपीडितका लागि तत्काल अस्थायी बसोबास, शुद्ध पिउने पानी, स्वच्छ र स्वस्थ्यकर खानेकुरा, औषधिलगायतका दैनिक अत्यावश्यक वस्तुको सहज व्यवस्था मिलाउन पनि सुझाव दिएको छ ।

समिति सभापति अब्दुल खानको अध्यक्षतामा बसेको बैठकले भूकम्पमा परी ज्यान गुमाउने प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

बैठकले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार कार्यमा सबै पक्षबाट भएको भूमिका र प्रयासप्रति आभारसमेत प्रकट गरेको छ । गत शुक्रबार राति गएको भूकम्पमा परी एक सय ५३ जनाको मृत्यु हुनुका साथै दुई  सय ४० भन्दा बढी व्यक्ति घाइते भएका थिए ।