काठमाडौँ- गत शुक्रबार जाजरकोट जिल्लाको बारेकोट रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी घाइते तथा अंगभंग भएकाहरुको उपचारको लागि सशस्त्र प्रहरी बलले स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ ।
सशस्त्र प्रहरी बलका तर्फबाट डा. रोशन पराजुली र डा. निश्चल घिमिरेको कमाण्डमा दुई वटा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको हो । डा. रोशन पराजुलीको कमाण्डमा खटिएको स्वास्थ्यकर्मीको टोलीले रुकुम पश्चिम जिल्लाको मिसन अस्पताल चौरजहारीमा रहेर घाइतेहरुको उपचार गरिरहेको सशस्त्रले जानकारी दिएको छ ।
त्यस्तै, डा. निश्चल घिमिरेको टोलीले जाजरकोट जिल्लाको जिल्ला अस्पताल जाजरकोटमा रहेर स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।
भूकम्पपश्चात नेपाल एपीएफ अस्पताल बलम्बु, काठमाडौंबाट डा. रोशन पराजुलीको कमाण्डमा ९ जना रुकुम पश्चिमको लागि र सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट डा. निश्चल घिमिरेको कमाण्डमा ४ जनाको स्वास्थ्यकर्मीको टोली जाजरकोटको लागि खटिएको थियो ।