तस्विर रोयटर्स

अन्तर्राष्ट्रिय

फिलिपिन्समा बस दुर्घटना हुँदा १७ को मृत्यु

By खबरहब

December 06, 2023

मनिला– मध्य फिलिपिन्सको पहाडमा यात्रुवाहक बस सडकको मोडबाट चिप्लिएर खस्दा १७ जनाको मृत्यु र ११ जना घाइते भएको भएका छन् । 

मंगलबार दिउँसो एन्टिक प्रान्तको ह्यामटिक नगरपालिकामा गुडिरहेको बस दुर्घटनामा परेको प्रान्तीय विपत् एजेन्सीका प्रमुख रोडरिक ट्रेनले बताएका छन् । उनले सडकको त्यो भागलाई ‘सम्भावित दुर्घटना स्थल’ भन्दै अस्पतालमा सात जनाको अवस्था चिन्ताजनक र अन्य चारको अवस्था सामान्य रहेको जानकारी दिएका छन् । 

मृत्यु हुनेमध्ये एक केन्याली रहेको र अर्का केन्याली गम्भीर घाइते भएको जनाइएको छ । प्रान्तीय गभर्नर रोडोरा काडियोका अनुसार बसमा चार केन्यालीसहित अधिकांश एन्टिकका बासिन्दा थिए । यद्यपि पछि प्रहरीले बसमा दुई जनामात्र केन्याली रहेको पुष्टि गरेको छ । एउटा शवको सनाखत हुन सकेको छैन । 

‘म त्यो स्थानलाई ‘हत्यारा मोड’ भन्छु, यो पहिला नै त्यहाँ खसेको दोस्रो सेरेस बस थियो’, बस कम्पनीको नाम उल्लेख गर्दै काडियोले भने, ‘यति धेरै सङ्ख्यामा मृत्यु भएकाले त्यो सडकलाई त्याग्नुपर्छ र सो क्षेत्रलाई सुरक्षित बनाउनका लागि अर्को सडक बनाउनुपर्छ ।’ उनका अनुसार घना जङ्गलको खाडल करिब ३० मिटर गहिरो थियो । 

ट्रेनका अनुसार बस अग्लो स्थानबाट खस्दा ठूलो मात्रामा क्षति भएको हो । ‘प्रत्यक्षदर्शीहरूका अनुसार यान्त्रिक गडबडीका कारण बस दुर्घटना भएको हो, सम्भवतः ब्रेक फेल भएर चालकले नियन्त्रण गुमाएको हुनसक्छ’, उनले भने ।