अन्तर्वार्ता

एकलकाँटे भएर काम छैन : माधव नेपाल

By ज्ञानु घिमिरे

December 06, 2023

काठमाडौं- पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेकपा एमाले (तत्कालीन माले) का संस्थापक नेता हुन् । उनले डेढ दशकभन्दा बढी नेकपा एमालेको प्रमुख भएर काम गरे । अहिले बुढेसकालमा उनी एमालेबाट विद्रोह गरेर बनेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष छन् ।

जुन पार्टीमा नेता नेपालले आफ्नो जीवनको ऊर्जाशील समय खर्चिए, अहिले त्यही एमाले पार्टीका नेता–कार्यकर्ताबाट उनी अपहेलित र आलोचित छन् । एमालेका नेता कार्यकर्ताहरु माधव नेपालको नाम सुन्न रुचाउँदैनन् । शायद राजनीति यस्तै निर्मम हुने गर्दछ । नेकपा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी बनाएपछि उनी एमाले अध्यक्ष केपी शर्मा ओलीको तारो बनेका छन् । यही भएर एमाले नेताहरुले एकीकृत समाजवादीका अन्य नेतालाई पार्टीमा तान्ने र माधव नेपाललाई एक्ल्याउने बताउँदै आएका छन् ।

काठमाडौंको शान्तिनगर छेउमा बागमती किनार नजिकै नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय छ । सोही कार्यालयमा अध्यक्ष नेपालसँग खबरहबले गरेको कुराकानी यहाँ प्रस्तुत छ । नेता नेपालसँग मुख्यतः प्रचण्ड नेतृत्वको सरकारको काम र नेकपा एमालेसँग पार्टी एकताको सम्भावनामा केन्द्रित रहेर कुराकानी गरिएको छ । त्योभन्दा पहिले ७१ वर्षे नेता नेपालको दैनिकी के कसरी चलिरहेको छ, यहाँबाट कुराको पोयो सुरु गरौं :

बिहान कति बजे उठ्नुहुन्छ ? ५ बजेपछि । 

बिहानै उठेर पहिलो काम ? पहिले म मर्निङवाक गर्थें, पछि योगा गर्न थालें । ०३२ सालमा जेलमा हुँदा पनि योगा गर्थें । कोभिडका बेला नबिराई गरें । अहिले पनि सामान्यतया योगा गर्छु । त्यसपछि मान्छेहरू भेट्न आइपुग्नुभएको हुन्छ, नुहाइधुवाइ सकेर भेटघाट गर्छु ।

मानिसहरु बिहानै आउनुहुन्छ तपाईँलाई भेट्न ?

नियन्त्रण गर्न सकिँदैन । ८ बजेभन्दा पहिला नआउनुहोस् भन्ने चाहना रहन्छ तर चाहनाले मात्र के गर्नु । स्थिति पनि त्यही रहन्छ । बिहानको पत्रपत्रिका पनि पढ्न पनि भ्याइन्न । त्यसैले, राति पढ्ने लेख्ने गर्छु । 

राति कतिबजेसम्म पढ्नुहुन्छ ? सामान्यत : ११ बजेसम्म । कहिलेकाहीँ १२ पनि बज्छ । 

खानाको सेड्युल के छ ? खानाको कुरामा म विशेष ध्यान दिन्छु । ४५ वर्षसम्म टन्न खाए हुन्छ भन्ने पक्षमा थिएँ, ४५ नागेपछि खाना कम गरियो । ६० नाघेपछि खाना सकभर धेरै घटाउने र फलफूल लगायतका चिजमा ध्यान छ । म प्रायः घरको खानामा जोड दिन्छु । चिल्लो कम । माछा–मासु त्यति खान्नँ । पहिला माछा मासु खाँन्नथें ।

दिनभर हुने घटनाक्रम कसरी थाहा पाउनुहुन्छ ? फोन गरेर बुझ्नुहुन्छ कि सहयोगीले सुनाउँछन् ? फोन नै धेरै आउँछ । फोनको जवाफ दिनसमेत भ्याइन्न । साथीहरूले पनि सुनाउनुहुन्छ । 

परिवारलाई समय नदिएको आरोप लाग्छ कि लाग्दैन ? आउँछ । श्रीमती ६६ वर्षकी भइन् । कतिपय कुरा गर्न, जानकारी लिनसमेत भ्याइन्न । पार्टीको कामले व्यस्तता हुन्छ । समस्या छ । यो राजनीतिक दलको समस्या हो भनेर चित्त बुझाउँछु ।

छोराछोरी ? छोरी डाक्टर छिन् । छोरा अष्ट्रेलियामा छ । इन्जिनियर हो । 

कहिले काहीँ श्रीमतीलाई घुमाउन लैजाने फुर्सद मिल्छ ? जाऊँ भन्ने कुरा आउँछ । तर, एक दिन पनि घुम्न मात्र भनेर समय छुट्याउन सकेको छैन । अचानक अरु कामले गर्दा घुमिएको छ । एक्लै अध्ययन गर्ने, विभिन्न रिसोर्टमा गएर पढ्ने लेख्ने गरेको थिएँ तर, अहिले पाएको छैन । 

कस्ता किताब पढ्नुहुन्छ ? मसँग जोडिएको विषय पढ्छु । समय मिले अरु पनि पढ्छु । प्रत्येक दिन किताब पढ्छु । कतै जाँदा पनि झोलामा किताब हुन्छ । 

कुनै रोग छ अहिलेसम्म? खासै कुनै रोग छैन । सामान्यतया ग्यास्ट्रिक भएको मात्र हो । 

गीत कत्तिको सुन्नुहुन्छ ? सुन्छु । समाजमा चेतना, जागरण र संस्कार हुर्काउने गीत मन पराउँछु ।

अब देशको कुरा गरौं–

प्रचण्डले नेतृत्व गरेको सरकारमा तपाईको दल नेकपा एकीकृत समाजवादी पनि सहभागी छ । सरकारप्रति जनतामा असन्तुष्टि बढेको छ । स्वतन्त्र मनले सरकारको कामबारे कसरी मूल्याङ्कन गर्नुहुन्छ ? सरकारले आफ्नो काम कारबाहीमा सुधार गर्नुपर्छ । दुईवटा कुरामा ध्यान दिनुपर्छ । एक– यो मुलुक बनाउने सोचको विकास गर्नुपर्छ र योजना बनाउँदाखेर सबै पक्षलाई ध्यान दिनुपर्छ । एकलकाँटे भएर काम छैन । जहिले पनि सरकारसँग साधन स्रोतको कमी हुन्छ । साधन स्रोत परिचालन गर्दै योजना बनाएर कुन कामलाई उच्च प्राथमिकता दिने र कुन कामलाई गौण गर्ने यसको योजना गर्नुपर्छ । कामको गुणस्तरीयता र पारदर्शितामा ध्यान दिएर फलो गर्नुपर्छ । राम्रो गर्नेलाई पुरस्कृत र नराम्रो गर्नेलाई दण्डित गर्नुपर्छ । अहिले कामको गहिरो अध्ययन गर्ने परम्परा छैन ।

दोस्रो कुरा– यी सबै काम एकजना प्रधानमन्त्रीले मात्र गर्न सक्दैन । सबै मन्त्रीहरू र कर्मचारी प्रशासनले पनि यतातिर ध्यान दिएर लाग्नुपर्छ । हाम्रोमा एकजनाले मात्र गर्ने, अरू हेरेर बस्ने परम्परा भयो । जिम्मेवार व्यक्तिहरू र निकायले राम्रोसँग काम गरेको छ, छैन अनुगमन गर्नुपर्छ । यी कुराहरूमा कमजोरी भइरहेको छ । सच्चिएर सच्याएर लानुपर्छ ।

सरकार फेरबदल भइरहँदा पनि काम नभएको हो कि ? नीति एउटै हो । यसले केही असर होला तर नीतिमा निरन्तरता हुनुपर्छ । कुनै पनि काम गर्न समय चाहिन्छ । साधन स्रोतको दुरुपयोग हुनुभएन । सरकार परिवर्तन त विकसित देशमा पनि हुन्छ । नीतिको निरन्तरताको पाटो त्यहाँ हुन्छ । दोष दिएर उम्कन पाइन्न ।

यस्ता विषयमा प्रधानमन्त्रीले तपाईँहरूसँग छलफल-संवाद गर्नुहुन्न ? कतिपय कुराहरूमा गर्नुहुन्छ, कतिपय कुरामा हुन सकेको छैन । जसरी परामर्शको तरिका अपनाउनुपर्ने हो, त्यो तरिकाले भएको छैन । हामीले यसैका लागि पटक–पटक भनेका छौँ, प्रधानमन्त्रीले हुन्छ भन्नुभएको छ । चार दलका नेतालाई बोलाएर एक-पटक छलफल पनि गर्नुभएको थियो । यतिले पुग्दैन, वर्कसप सेमिनारको आयोजना गरेर विज्ञलाई पनि बोलाउँ भनेको छु । खास–खास समयमा खास खास नेतासँग कुरा गर्छु भन्ने भएको छ । 

खास–खास नेताहरूचाहिँ को–को हो ? खास–खास नेता भनेको सत्तामा साझेदारी गरिरहेका नेताहरू हुन् । प्रधानमन्त्रीले अन्य विपक्षी नेताहरूसँग पनि छलफल गर्नुपर्छ र सल्लाह सुझाव लिनुपर्छ भनेर मैले बेला–बेलामा भन्ने गरेको छु । 

पछिल्लो समय भएको भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाँण लगायतलाई पक्राउ गर्ने विषयमा सत्तामा रहेका दलबीच छलफल भयो कि भएन ? यो बारेमा भएन । यस्ता कुरामा छलफल गरेको छैन । गल्ती कसैले गरेको छ भने त्यसलाई राज्यले बचाउने कुरा हुँदैन, राज्य सञ्चालन गर्ने कुरामा छलफल हुन्छ । भ्रष्टाचार निवारण गर्ने, कामको गति तीव्र बनाउने कुरामा छलफल हुनुपर्छ भन्ने कुरा छ । 

कहिलेकाहीँ शक्ति कमजोर भएकै हिसाबले प्रधानमन्त्रीले गर्ने छलफल र संवादमा ठूला दललाई मात्र बोलाउने, एकीकृत समाजवादीलाई नबोलाउने पनि भएको छ कि ? प्रधानमन्त्रीले नभनौँ, अरू कसै–कसैले हामीलाई इग्नोर गर्न खोजेका थिए । बेलाबखतमा खोज्छन् । तर, हाम्रो महत्व बुझेपछि हाम्रो पछि लाग्न खोजेका छन् । शक्ति नभए पनि व्यक्तित्व र अनुभव ठूलो कुरा हो ।

यहाँहरूले आफ्नै सरकारलाई खबरदारी गर्न ज्ञापन पत्र पनि बुझाउनुभएको थियो । त्यो अहिले कहाँ पुग्यो ? पत्र बुझाएपछि बसेर छलफल भयो । तर, समय अपुग भयो । दुई पार्टीको टिम बसेर छलफल भयो । पछि चार पार्टी बसेर पनि छलफल भयो । अब विज्ञ र संसदमा रहेका सबै दलहरुबीच छलफल हुन्छ । प्रधानमन्त्रीले पनि त्यसको तयारी गर्दै हुनुहुन्छ । मैले भनेको भन्यै छु, समय मिलाउनुहोस् । समय व्यवस्थापनमा ध्यान दिनु भनेको छु ।

एकपटक बाम एकताको ठुलै हल्ला चल्यो । अहिले कांग्रेसलाई पाखा लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीसहित सरकारमा मिल्ने हल्ला पनि गाइँगुइँ चलिरहेको छ । गठबन्धन फेरिने सम्भावना कत्तिको छ ?

यो हल्ला मेरो कानमा आएको छैन । यो सम्भव पनि छैन । वर्तमान गठबन्धन ५ वर्षसम्म टिक्छ । 

बाम एकता नि ? हामी त चाहान्छौं नि देशभरका लोकतान्त्रिक शक्तिहरू मिलुन् । आपसमा नफुटुन् । सबैमा सद्बुद्धि होस् । हामीले भन्दै आएका छौँ । तर, यथार्थ कुरा हामी अहिले आफ्नो शक्ति बलियो बनाउने कुरामा लागेका छौँ । र, गठबन्धन छोड्न सक्दैनौँ । कांग्रेसले हामीलाई हरेक संकटमा साथ दिएको छ । धोका दिएर जान सकिन्न । 

तर यहाँकै पार्टीका कतिपय नेताहरू एमालेसँग एकताको पक्षमा देखिनुभएको चर्चा छ नि ? यसमा एकताको बाधक चाहिँ माधव नेपाल हुनुभयो भन्ने पनि छ । खास कुरो के हो ?

यो हल्ला मात्र हो । हाम्रो पार्टीको जे निर्णय छ, त्यसमा पार्टीका मान्छेहरू चल्ने हो । पार्टीको संयोजक म भएको नाताले त्यसलाई हामीले अगाडि बढाइरहेका छौँ । आफ्नो पार्टीलाई बलियो बनाउन मेची-महाकाली यात्रा पनि गरेका छौँ । अभियानमा भण्डै १० हजार मान्छेलाई पार्टीमा प्रवेश गराएका छौँ । सबै ठाउँका जनतासँग सल्लाह गरेका छौँ । सबै हामी सल्लाहमा अगाडि बढेका छौँ । यदि पार्टीको निर्णयमा कसैको चित्त बुझेको छैन भने त्यो अलग कुरा हो । यो पार्टी राम्रो भन्दै छोडेर आएका पनि छन् । दुईचार जना पार्टी छोडेर जान पनि सक्छन् । यो उहिलेकै परम्परा हो । यसमा टाउको दुखाएर बस्ने फुर्सद कसैलाई छैन । 

एमालेसँग एकताका लागि यहाँको पार्टीले कतिसम्म ढोका खुल्ला गरेको हो ? हाम्रोतर्फबाट सबै सकारात्मक शक्तिहरूसँग हातेमालो गर्न तयार छौँ । तर, हाम्रो चाहानाले मात्र हुँदैन । सबैभन्दा पहिले विचार मिल्नुपर्छ । अनि अरू सबै मिलेर जाने हो । परिस्थिति परिपक्व भएको छैन । अहिले एकताको गीत गाएर कुनै तुक छैन । पहिले माओवादी र एमालेले एकता गरेकै हो नि के भो परिणाम ? परिपक्व भएको र सबै पक्षमा ध्यान पुर्‍याएको देखिएन । आज मन लाग्यो, एकताको घोषणा गरेको छ । भोलि मन लाग्यो, फेरि विभाजन गर्ने, यो पाराले हुँदैन । ०३२ सालमा कोअर्डिनेसन केन्द्र बनाएदेखि नै हामीले पार्टी एकताका धेरै परिणामहरू भोगेका छौँ । ०३५ सालमा नेकपा माले बनाएपछि र ०४७ सालमा एमाले बनाएपछि हामीले धेरै कुरा भोगेका छौँ । खेलाँची ठान्नुहुँदैन । चिन्ता लिनु पनि हुँदैन । ठीक लक्ष र उद्देश्य लिएर अगाडि बढ्ने हो । 

उसोभए ०८४ को चुनावसम्मै यही गठबन्धन रहन्छ ? पहिला हामी हाम्रो पार्टी एकताबद्ध बनाउन चाहान्छौं । कोही एकतावद्ध हुन आए त्यसबारे गहन छलफल गरेर निर्णय गर्छौं । आज आउन पाएको छैन, पद नमिलेर भोलि हिँड्यो भने के गर्नु ? पार्टीमा आउने तर पद पाइनँ भनेर जाने गर्दा समस्या हुन्छ । ०८४ सालसम्म यही गठबन्धन अगाडि जान्छ । 

पछिल्लो समय एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ताको बाटो खुलेको छ कि छैन ? यसको आवश्यकता उहाँले पनि गर्नु भएको छैन, मैले पनि गरेको छैन । सन्चो–बिसन्चो पनि सोधिएको छैन । बिसन्चो भए पो सोध्नु । 

राजावादी शक्ति बढिरहेको र आफ्नो पार्टीको कमजोर भएको देख्दा एमालेसँग मिल्ने भित्री चाहना हुन्छ कि हुँदैन ? यस्तो कुरा एकाध मनमा उब्जिन्छ ? उब्जिन्छ । र, म प्रधानमन्त्रीज्यूलाई पनि भन्छु । देश सम्हाल्ने जिम्मेवारी तपाईँको छ । तपाईँले विभिन्न पार्टीका नेताहरूसँग छलफल गर्नु, बोलाउनु भन्छु । हामी प्रमुख शक्ति नभएको हुनाले हामीले आउ मिलौं भन्ने अवस्था छैन । मैले भन्ने गरेको छु– एमालेसँग मात्र नभएर अरूसँग पनि संवाद गरौँ । । 

आफूले लामो समयसम्म बनाएको, हुर्काएको र नेताहरू उत्पादन गरेको पार्टी एमालेलाई यहाँले कत्तिको मिस गर्नुहुन्छ ? मिस गरेर मात्र केही हुन्न रहेछ । परिस्थिति जुन ढंगले अगाडि बढेको छ, त्यस पछाडिका कारणहरू खोजेर चित्त बुझाउँछु । मलाई कम्युनिस्ट आन्दोलनको माया लाग्छ । लोकतान्त्रिक आन्दोलन र परिवर्तनको माया लाग्छ । 

एमाले अध्यक्ष ओलीले एमालेसँग समाहित हुन आउ, बाटो खुल्ला छ भन्नुभयो । यहाँहरू पनि ढोका खुल्ला छ भन्नुहुन्छ । योबेला कम्युनिस्टहरू मिल्नुपर्ने होइन ? उहाँहरू पनि मिल्न आउनुहुन्छ भने हाम्रो पार्टीको ढोका खुल्ला छ । हाम्रो आफ्नो पार्टी छ । भूमिका छ । यो पार्टीले नेपालको राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण भूमिका खेलेको छ । र खेल्दै आएको छ । यसले राजनीतिको कोर्स नै परिवर्तन गरेको छ । यो खुबी हामीमा छ । क्षमता छ । ओलीजीका बारेमा धेरै भन्नुपर्ने केही छैन । उहाँको अभिव्यक्ति र सोचाइले गर्दा यो सबै भएको हो । त्यो पार्टीमा भएका साथीहरू पछुताउनुभएको छ । हामीलाई भन्नुहुन्छ– के गर्नु अपमानित हुनुपरेको छ ।

यहाँहरू भन्नुहुन्छ हामीले ढोका खुल्ला गरेका छौँ । एमाले भन्छ बाटो खुल्ला छ । यहाँहरूलाई मिलाउने मध्यस्थकर्ताको अभाव भएको हो ?

हामी बृहत् बाम एकताको पक्षमा छौँ । यसकै उपज समाजवादी मोर्चा हो । यो समाजवादी मोर्चा बनाउने सिलसिलामा नै हामीले माओवादी, जनता समाजवादी र विप्लवको पार्टीसँग मिलेर अगाडि बढिरहेका छौँ । यो एउटा एकता हो । यो एकतामा नेकपा एमाले आउन चाहान्छ भने स्वागत छ । 

यता पनि स्वागत गर्ने, उता पनि स्वागत गर्ने मात्र चलिरहेको छ । ठोस कुरा आएका छैनन् । यहाँहरूबीच वार्ता गराउने नेताको खडेरी देखियो हैन ? जहाँ सम्भावना छैन, त्यहाँ कोसिस गर्नु बेकार छ । अहिले एमाले नेत्तत्वसँग छलफल गर्ने कुनै सम्भावना छैन । एमालेको चरम हस्तक्षेपमा परेका भीम रावलजीसँग पनि मेरो कुराकानी भइरहेको छ । उहाँ सकारात्मक हुनुहुन्छ । तर, बसेर मसिनो गरी कम्युनिस्ट आन्दोलनका बारेमा छलफल भएको छैन । 

मुलुकको अर्थतन्त्र बिग्रिएको कुरा सर्वविदितै छ । युवामा चरम निराशा छ । वैदेशिक रोजगारमा जानेहरु उत्तिकै बढेका छन् । देशमा बुढापाका र केटाकेटी मात्र हुने अवस्था भइसक्यो । सरकारले यतातिर किन ध्यान दिँदैन ? यसबारे राजनीतिक दहहरू पनि किन चुप छन् ? यसबारे मैले सरकारलाई सिङ्गो नीति एकपटक रिभ्यु गरौँ भनेको छु । के गर्दा रोजगारी सिर्जना हुन्छ, राष्ट्रिय उत्पादन बढाउन के गर्ने, निर्यात रोकेर आयात कसरी बढाउने ? यसबारेमा छलफल गरौँ भनेको भनेकै छु ।

यहाँ त विदेश भ्रमणमा गइरहनु हुन्छ । नेपालभन्दा पछाडि पहिचान भएका देशहरूको विकाश कहाँ कहाँ पुगेको छ । तर नेपाल भने उही शिक्षा, स्वास्थ्य, सडक, खानेपानीका समस्यामै अल्झिरहेको छ ।जनताका न्यूनतम आवश्यकता पनि कतिपय ठाउँमा पूरा भएका छैनन् । आफ्नै देशभित्र घुम्न भारत सरकारको अनुमति लिनुपर्ने बाध्यता छ । राजनीतिक दलले जनताका माग चाहिँ कहिले पूरा गर्लान् ?

नेपालले साधन स्रोतको उचित उपयोग गर्न सकेको छैन । आवश्यकता र प्राथमिकता निर्धारण भएको छैन । एउटै खोलामा कतै १५ वटा पुलहरु छन्, कतै पुल नै छैन । योजनाको छनोट गर्ने कुरा र प्राथमिकता निर्धारण गर्ने कुरामा चुकेका छौँ । राष्ट्रिय बजेट कहाँ कहाँ भड्किरहेको छ, के भयो, कता भयो भनेर निगरानी गर्ने व्यक्तिको कमी छ । विज्ञको सल्लाह लिने काम कमै मात्र भएको छ । नेपालको अर्थतन्त्र रहेको हाइड्रोपावर र पर्यटन प्रवर्द्धन गर्ने योग्य जनशक्ति छैन । उद्योगधन्दा र कलाकारखानाको विकासमा ध्यान छैन । पर्यावरणलाई जोगाउने कुरामा चुकेका छौँ । हरित अर्थतन्त्र बचाउन पहल छैन । कहाँ के खेर गएको छ, त्यसको पहिचान भएको छैन । विद्युत् सोचेजति खपत भएको छैन । यी सबै गर्नलाई मानव संशोधनको पनि परिचालन हुन सकेन । व्यवसाय प्रवर्द्धन गर्ने कुरामा जोड छैन । कतिखेर कहाँ पैसाको लगानी गर्ने कतिखेर लगानी नगर्ने ध्यान पुगेको छैन । 

बजेट निर्माणमा पनि बिचौलियाको हात छ भन्छन् नि ? साँचो हो ? हो । नेपालमा बजेट बनाउने बेलामा बिचौलियाहरू जुर्मुराएका हुन्छन् । उनीहरू नेपालमा आत्मनिर्भर अर्थतन्त्र विकासको हुन दिँदैनन् । बढी मुनाफा र कमिसनमै उनीहरूको ध्यान हुन्छ । यसरी कमिसन खाने र देश डुबाउन खोज्नेहरूको कमी छैन । 

बिचौलियाको पहिचान हुँदाहुँदै पनि सरकारले किन यस्तालाई रोक्न सक्दैन ?  बिचौलियालाई उत्पादनसँग मतलब छैन, मुनाफासँग मतलब छ । देश, संस्था र जनतासँग मतलब छैन, व्यक्तिवाद, भ्रष्टाचार र पैसा कमाउने प्रवृत्ति छ । त्यहाँबाट मुक्त नभएसम्म गाह्रो छ । पैसाको धुँवा सवार भएपछि विकृति बढ्ने भो । राज्यको अनुगमन संयन्त्र सक्रिय भएन भने कन्ट्रोल गर्ने उपाय खोजेर राज्यले उचित एक्सन लिनुपर्छ । मुखले होइन, व्यवहारमा देखाउनुपर्छ । 

पछिल्लो समय देशमा राजावादी बढेका हुन् ? देश कता जाँदै छ त अब ? राजावादीको कुनै चार्म छैन । यसकापछि कोही छैन । अहिलेको  व्यवस्थाविरुद्ध अरू कल्पना गर्न सकिन्न । जनताका छोराछोरी राष्ट्रपति, प्रधानमन्त्री हुने यो व्यवस्था भन्दा अन्य कुनै व्यवस्था आउनेवाला छैन । म भर्खरै मधेस प्रदेश गएको थिएँ । कुनै जनतामा राजाको आशा छैन ।

ब्याजबाट उम्कन पाइन्छ कि भनेर एक–दुईजना उफ्रिएका मात्र हुन् । समस्यामा परेका मान्छेहरूलाई अल्मल्याइएको छ । राजनीतिक परिवर्तनका लागि जनता तयार छैनन् । देश सकारात्मक दिशामा जानुपर्छ । देश गणतन्त्र भन्दा बाहिर जान सक्दैन । हामीले नै देश परिवर्तन गरेका छौँ । देशका लागि राम्रो चिन्तन र चिन्ता हुनुपर्छ ।

व्यवहारिक सक्रियता, क्रियाशीलता, सही व्यवहार, इमान्दारिता, दक्षता र परिवर्तनका लागि हुटहुटी हुनुपर्छ । अन्य प्रतिक्रियावादी शक्ति र राजावादी चरित्रका मानिसहरू बोलेर केही हुन्न ।