फाइल फोटो

राजनीति

एमालेबाहेक अरु कसैले देश बनाउन सक्दैन : ओली

By खबरहब

December 06, 2023

गुल्मी- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबाहेक अरु कसैले देश बनाउन नसक्ने बताएका छन् । यही मङ्सिर १४ गते महाकाली नदीको किनार झुलाघाटबाट सुरु गरेको यात्राको सातौँ दिन आज गुल्मीको वामीटक्सारमा आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

“हरेक नागरिकले शान्ति सुरक्षासँगै सम्मानित जीवन जिउन पाउनुपर्छ”, अध्यक्ष ओलीले भने, “एमालेबाहेक अरु कसैले देश बनाउन सक्दैन ।”

समृद्धिका लागि सङ्कल्प यात्रा भन्दै एमालेले मध्यपहाडी लोकमार्गअन्तर्गतको झुलाघाट–चिवाभञ्ज्याङ यात्रा चलाइरहेको छ । जसअन्तर्गत गुल्मीको वामीटक्सार पुग्नेका ओलीले जनताको सुझाव लिन, समस्या बुझ्न, मागपत्र बुझ्न, विकासका योजनाको जानकारी लिन र मध्यपहाडी लोकमार्गको अवलोकन गर्न सङ्कल्प यात्रा चलाइरहेको बताए ।

लुम्बिनी प्रदेशअन्तर्गतको क्षेत्र राष्ट्रको प्रतिनिधित्वको क्षेत्र भएको भन्दै ओलीले एमालेलाई जनताको थप साथ र सहयोग चाहिने बताए । आगामी निर्वाचनमा एमालेलाई बहुमतसहित जिताएमा मात्र देश समृद्ध बन्न सक्ने अध्यक्ष ओलीको दाबी छ ।