देश/प्रदेश

सवारी दुर्घटनापछि फरार चालक पक्राउ

By खबरहब

December 06, 2023

काठमाडौं- काठमाडौंको शंखरापुरमा सवारी दुर्घटना गराएर फरार भएका चालक सवारी साधन सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा शंखरापुरका ४५ वर्षीय जयनारायण श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

उनलाई प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बुधबार चाबहिलबाट पक्राउ गरेको हो । गत सोमबार उनले चलाएको अल्फाबेट नम्बर नखुलेको सेतो रंगको कारले ओखलढुङ्गा चम्पादेवी घर भइ हाल शंखरापुर बस्ने पैदलयात्री रेतबहादुर तामाङलाई ठक्कर दिएको थियो ।

कारको ठक्करबाट तामाङ घाइते भएकोमा उपचारका क्रममा उनको वीर अस्पतालमा मृत्यु भएको थियो । पक्राउ परेका श्रेष्ठविरुद्ध सवारी ज्यान अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।