फाइल तस्वीर- एएफपी

अन्तर्राष्ट्रिय

पोलियोविरुद्धको खोप बहिष्कार गर्न पाकिस्तानका जातीय अगुवाको उर्दी, नत्र ५ लाख जरिवाना

By खबरहब

December 06, 2023

इस्लामावाद- पाकिस्तानको उत्तरी वजिरिस्तानका जातीय अगुवाहरुले पोलियोविरुद्धको खोप अभियान बहिष्कार गर्न उर्दी जारी गरेका छन् । उत्तरी वजिरिस्तानमा उथमानजाइ समुदायका अगुवाहरुको भेला (जिर्गा) ले पोलियोविरुद्धको खोप अभियान बहिष्कार गर्ने घोषणा गरेको हो ।

उक्त जिर्गाले आफ्नो जिल्लामा विधिको शासन बहाल नभएसम्म, स्रोत साधनको समान वितरण प्रत्याभूत नभएसम्म र बेपत्ता पारिएका व्यक्तिहरु रिहा नभएसम्मका लागि खोप अभियान बहिष्कार गर्ने घोषणा गरेको हो ।

जिर्गाले बच्चालाई खोप लगाउने परिवारलाई जनही ५ लाख जरिवाना तिराउने निर्णय समेत गरेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

त्यसबाहेक ३० सदस्य रहेको उथमानजाइ जिर्गाले आफ्ना मागहरुबारे सम्बन्धित अधिकारीलाई ज्ञापनपत्र पनि बुझाएको जिर्गाका प्रवक्ता मुफ्ती बैतुल्लाहलाई उद्धृत गर्दै डनले जनाएको छ ।