समाचार

सामाखुसीमा लागेको आगलागी नियन्त्रणमा

By खबरहब

January 07, 2023

काठमाडौँ – राजधानीको सामाखुसी चोकस्थित आकाश जोगिनी पेट्रोलपम्प नजिक लागेको आगलागी नियन्त्रणमा आएको छ।

टोखा नगरपालिका–१० मा पर्ने उक्त स्थानमा शुक्रबार राति आगलागी भएको हो। राति ८ बजे लागेको आगलागी ९ बजे पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले राससलाई जानकारी दिए।

आगलागी नियन्त्रणमा लिन काठमाडौँ महानगरपालिकाबाट एक, बालाजु औद्योगिक क्षेत्रबाट एक, बूढानीलकण्ठ नगरपालिकाको एक र प्रहरी वाटर क्यानन एक गरी चारवटा दमकल र पाँचवटा पानीको ट्याङ्कर प्रयोग गरिएको थियो।

आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको एक सय ७५ जनाको टोली घटनास्थलमा खटाइएको थियो। एउटा टहरोको पसलबाट सुरु भएको आगलागी चारै दिशामा फैलिएको थियो। आगलागीको क्षति भने आउन बाँकी रहेको प्रवक्ता मैनालीले बताए।