खेलकुद

साफ महिला यू–२० च्याम्पियनसिप फुटबलमा नेपालद्वारा भारत पराजित

By खबरहब

February 07, 2023

काठमाडौँ- दक्षिण एसियाली फुटबल महासंघ साफ महिला यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भारतलाई ३–१ ले पराजित गरेको छ ।

भारतलाई पराजित गरेसँगै नेपाल साफ यू–२० महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तफा कमल रंगशालामा नेपालले तीन गोलले जित निकालेसँगे नेपाल फाइनलमा प्रवेश गरेको हो ।

खेलको २१ औं मिनेटमा भारतकी अपूर्णा नार्जरीले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् । ४८ औं मिनेटमा अञ्जली चन्दले गोल गर्दै नेपाललाई १–१ को बराबरीमा ल्याइन् ।

७९ औं मिनेटमा कप्तान प्रिती राईले पेनाल्टीमार्फत गोल गरेकी थिइन् । भारतले पहिलो हाफमा २१ औं मिनेटमा गोल गर्दै अग्रता लियो । भारतका लागि अपूर्णाले गोल गरेकी थिइन् ।

नेपालले दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमा बराबरी गोल फर्काउन सफल भयो। भारतकी गोलकिपरले राम्रोसँग क्लियर गर्न नसकेको बल पाएकी अन्जली चन्दले खाली पोस्टमा गोल गरिन् ।

भारतलाई पराजित गर्दै तीन खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको नेपालले फाइनलमा स्थान सुरक्षित गरेको छ । यसअघि बंगलादेशसँग ३–१ ले पराजित भएको नेपाल भुटानलाई भने ४–० ले पराजित गरेको थियो ।

यसअघि भुटानलाई १–२ ले पराजित गरेको भारत बंगलादेशसँग गोलरहित बराबरीमा रोकिएको थियो । नेपालले फाइनलमा भारत वा बंगलादेशसँग बिहीबार प्रतिस्पर्धा गर्नेछ ।

आजै बंगलादेश र भुटानको खेलपछि फाइनलमा पुग्ने अर्को टिमको टुंगो लाग्नेछ ।