राजनीति

युएसएडद्वारा छ करोड डलर सहयोगको घोषणा

By खबरहब

February 07, 2023

काठमाडौँ- अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग युएसएडले नेपालका सरकार र जनतासँगको लोकतान्त्रिक साझेदारीमा बढोत्तरी गरेको छ ।

दुई दिने नेपाल भ्रमणमा रहेकी युएसएडका प्रशासक सामन्था पावरले आज नेपाल सरकार, नागरिक समाज र निजी क्षेत्रका नेतृत्वकर्तामाझ नेपालको लोकतान्त्रिक उन्नतिलाई अघि बढाउन युएसएडले पाँच करोड ८५ लाख अमेरिकी डलर अर्थात् साढे सात अर्ब नेपाली रुपैयाँभन्दा बढी सहयोग प्रदान गर्ने घोषणा गरेकी छिन् ।

सो रकम स्रोतको उपलब्धतामा निर्भर हुनेछ । उक्त घोषणाको रकममध्ये चार करोड दुई लाख डलर सन् २०२२ मा घोषित ६५ करोड ९० लाख अमेरिकी डलरको विकास उद्देश्य सम्झौताको एक अंश भएको अमेरिकी दूतावासले जनाएको छ ।

नेपालमा यसै वर्ष आमनिर्वाचन सम्पन्न भएसँगै सङ्घीयता सुदृढ गर्ने, महिला र सीमान्तकृत समुदायको समावेशीकरणलाई अगाडि बढाउने, युवाको सशक्तीकरण गर्ने र लोकतन्त्रले आफ्ना नागरिकका हितमा परिणाम ल्याउन सक्छ भनी देखाउने अवसर नेपालसँग छ । यस कार्यमा अमेरिकाको साझेदारी रहने दूतावासले जनाएको छ ।

युएसएडको लगानीले सार्वजनिक वित्तीय व्यवस्थापन, स्वतन्त्र नागरिक समाज तथा सञ्चार माध्यम, लोकतान्त्रिक प्रक्रिया तथा संस्था, कानूनी शासन र निजी क्षेत्र विकासको सुदृढीकरण गरी नेपाललाई आफ्ना लोकतान्त्रिक उपलब्धि मजबुत पार्न र नेपालीका निम्ति अझ बृहत् समृद्धि र उत्थानशीलता भित्र्याउन मद्दत गर्ने जनाइएको छ । मानव बेचबिखन विरुद्ध लड्न नेपाललाई सहयोग गर्न पनि युएसएडले जारी राख्ने जनाएको छ ।