समाचार

अतिक्रमित संरचनामा हटाउँदै धनगढी उपमहानगर

By खबरहब

March 07, 2023

अत्तरिया– कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाले अतिक्रमित सार्वजनिक क्षेत्र खाली गराउने अभियान तीव्र पारेको छ । विसं २०२१ को नापीलाई आधार मानेर उपमहानगरपालिकाले अतिक्रमण क्षेत्र खाली गराइरहेको हो । 

पहिलो चरणमा धनगढीको डुबान क्षेत्रलाई प्राथमिकतामा राखेर अतिक्रमण क्षेत्रमा डोजर लगाइरहेको उपमहानगरपालिकाले जनाएको छ । धनगढीको बढी डुबान हुने क्षेत्र वडा नं १ २, ३, ५, ७ का बजार क्षेत्रमा अभियानका रुपमा खाली गराइरहेको उपमहानगरपालिका प्रमुख गोपाल हमालले बताए । 

‘पहिलो चरणमा धनगढीको मुख्य बजार क्षेत्रमा पानीको बहाव नै रोकिने गरी भएको सार्वजनिक क्षेत्रमा डोजरले खाली गराउने काम भइरहेको छ’, प्रमुख हमालले भने , ‘यो अभियान १९ वडामा पाँचै वर्ष सञ्चालन हुनेछ ।’  उनले उपमहानगरभित्र रहेका नाला, खोला, ताल, नदी क्षेत्र जो सुकैले अतिक्रमण गरेको भए पनि हटाउने बताए । ‘धनगढीको सबैभन्दा ठूलो समस्या डुबान हो । यसको समाधान गर्ने हो भने खोलानालालाई प्राकृतिक बहावमा फर्काउनुपर्छ,’ उनले भने , ‘अतिक्रमण नहटाएसम्म डुबानको समस्या समाधान हुन सक्दैन ।’

प्रमुख हमालले अतिक्रमण हटाउन सहयोग गर्न नगरवासीलाई आग्रह गरेका छन् । उनले २०२१ सालको नापी नक्सा अनुसार खोलानालाको बहाव फकाइने बताए । ‘सार्वजनिक ताल, खोलानाला, कुलो मिचेर व्यक्तिगत संरचना बनाएका केही सीमित व्यक्तिका कारण सम्पूर्ण नगरवासीले हरेक वर्ष डुबानको सास्ती ब्यहोर्नु कुनै पनि हालतमा सामाजिक न्याय हुन सक्दैन’, मेयर हमालले भने ।

धनगढी बजार क्षेत्रमा सबैजसो खोलानाला अतिक्रमणको चपेटामा छन् । अतिक्रमणले पानीको बहाव थुनिने भएकाले क्षणभरको वर्षामै धनगढी डुबानमा पर्ने गरेको छ । बर्खायाममा धनगढीका दर्जनौँ बस्ती डुबानमा पर्छन् । धनगढी मुख्य बजार क्षेत्र भएर बग्ने सुकुटी नाला, कैलाली नाला, सेतोपुल खोलालगायत सबैजसो खोलानाला अतिक्रमण गरेर घरलगायतका संरचना निर्माण गरिएका छन् ।

उपमहानगरले  वडा नं ७ मा रहेको कित्ता नम्बर ४ को सड्वा बाबा तालको अतिक्रमण हटाएको छ । साढे नौ कट्ठा क्षेत्रफलमा फैलिएको सडुवा बाबा तालमा घर बनाउन हालिएका ५६ पिलर उपमहानगरले डोजर लगाएर भत्काएको जनाएको छ । सार्वजनिक ताल खाली गर्नु राम्रो भए पनि धनगढीका सबै अतिक्रमण गरिएका ताल खाली गर्नुपर्ने तालमा पिलर खडा गरेका रामसेवक रानाले बताए । 

‘तालको अतिक्रमण हटाउनु राम्रो हो तर, सबै तालको हट्नुपर्‍यो’, उनले भने, ‘मैले मात्रै हालेको पिलर हटाएर अरूको नहटाए त राम्रो भएन, सबै तालमा भएको अतिक्रमण हटाए मेयरसाबलाई माला लगाइदिन्छु ।’ सड्वा बाबा तालमा २०७७ को फागुनमा रामसेवक रानाले पिलर हालेर घर बनाउने प्रयास गरेका थिए । यो तालमा अन्य व्यक्तिले पनि पक्की तथा कच्ची घर बनाएका छन् । घर बनाएर बसेकालाई उपमहानगरले ताल खाली गर्न केही समय दिने जनाएको छ । 

वडा नं ७ मा रहेका मनिया ताल, आटा गडैया ताल, सकेला ताल, भानुचोकमा रहेको लम्बा ताल पनि अतिक्रमण गरिएको स्थानीयले बताएका छन् । उपमहानगरको वडा नं ३ केदारटोलमा अतिक्रमित भएको खल्ला क्षेत्र खाली गराएको छ । सार्वजनिक क्षेत्र अतिक्रमण हुँदा बर्खायाममा एक घण्टा पानी पर्दा जलमग्ने हुने समस्या छ । डुबान समस्या न्यूनीकरणका लागि अतिक्रमण क्षेत्र खाली गराउनुपर्ने स्थानीयको माग छ ।

साविकका खोलानाला अतिक्रमणको चपेटामा पर्दा नक्सा पनि बाँकी नरहेको स्थानीय शिवदत्त भट्टले बताए। ‘उपमहानगरपालिकाले खोला-नाला अतिक्रमण क्षेत्र खाली गराउने अभियान सुरु गरेको छ’, उनले भने, ‘तर, सुरु गरेर मात्र भएन । यसलाई व्यवस्थित बनाउन पनि आवश्यक छ ।’