गन्तव्य

गौतमबुद्ध विमानस्थल पूर्ण सञ्चालनको माग गर्दै व्यवसायीद्वारा धर्ना

By खबरहब

April 07, 2023

काठमाडौँ- भैरहवास्थित अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल पूर्ण सञ्चालन हुनुपर्ने माग गर्दै निजी क्षेत्र सम्बद्ध संस्थाहरुले विमानस्थल अगाडि धर्ना दिएका छन् ।

४० अर्ब लगानी भई सञ्चालनमा आएको विमानस्थल पूर्ण रुपमा सञ्चालनका लागि सरकार, मन्त्रालय र सरोकारवाला निकायले चासो नदिएको कारण निजी क्षेत्रको लगानी समेत संकटमा परेको भन्दै व्यावसायिक संस्थाका प्रतिनिधिले विमानस्थलको मुख्य प्रवेशद्वारमा धर्ना दिएका हुन् ।

विमानस्थललाई केन्द्रित गरी पर्यटन व्यवसायीले अर्बौँ रुपैयाँ लगानी गरेको भन्दै व्यवसायीहरुले विमानस्थल पूर्ण सञ्चालनमा नआउँदा उक्त लगानी डुब्ने स्थिती रहेको बताए । भैरहवा, रुपन्देही, लुम्बिनी प्रदेश मात्रै नभई समग्र देशको विकासका लागि पनि विमानस्थल पूर्णत सञ्चालनमा ल्याउन आवश्यक रहेको चेम्बर अफ कमर्श रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीको भनाइ छ ।

सञ्चालनमा आएको महिनौँ दिन बित्दासमेत अन्तर्राष्ट्रिय विमानस्थलमा साताको ३ दिन मात्रै उडान हुँदै आएको छ । विरोध नगरे केही नहुने परिपाटी नेपालमा बसेकोले आन्तरिक उडानमात्रै गर्दै आएको गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडानहरु थप नभए आन्तरिक उडान पनि ठप्प पार्न बाध्य हुने अध्यक्ष ज्ञवालीले चेतावनी दिए ।

दर्जन बढी निजी व्यावसायिक संस्थाहरुको ऐक्यबद्धता रहेको विरोध कार्यक्रम दबाब स्वरुप अहिले शान्तिपूर्ण रुपमा धर्ना कार्यक्रम गरे पनि मागहरु सम्बोधन नभए आन्तरिक टर्मिनल पनि बन्द गर्ने चेतावनी दिए ।