देश/प्रदेश

तालिम पूरा गरेका जवानलाई सशस्त्रका महानिरीक्षकको निर्देशन – कर्तव्यनिष्ठ ढङ्गले कार्यक्षेत्रमा लाग्नू

By खबरहब

April 07, 2023

काठमाडौँ- सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले संविधान, देश र जनतालाई सर्वोपरि बनाउँदै सेवा प्रवाहमा लाग्नुपर्नेमा जोड दिएका छन् ।

सशस्त्र प्रहरी जवान आधारभूत तालिम सम्पन्न गरेका सशस्त्र प्रहरी जवानहरूका लागि आज पोखराको लामापाटनमा आयोजित दीक्षान्त समारोहमा उनले सशस्त्र प्रहरी बलको गरिमालाई उचो राख्ने गरी कर्तव्यनिष्ठ ढङ्गले कार्यक्षेत्रमा लाग्न आग्रह गरे ।

तालिमका उपलब्धिलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिँदै अतिरिक्त महानिरीक्षक पौडेलले तन, मन र वचनका साथ नागरिकको सेवा र सुरक्षामा लाग्न सुझाव दिए ।

अनुशासन र धैर्यतालाई प्रत्येकले आफ्नो कार्यक्षेत्रमा उतार्नेमा विश्वास व्यक्त गर्दै उनले कार्यक्षेत्र अवसर र चुनौतीको सङ्गमस्थल भएको धारणा पनि व्यक्त गरे ।

कूल एक सय ५१ जना दीक्षित भएको उक्त समारोहमा उत्कृष्ट भएकालाई पुरस्कृत गरिनाका साथै कवाजलगायत विभिन्न प्रदर्शन गरिएको थियो ।