तस्बिर : डब्लूआरटीभी 

अन्तर्राष्ट्रिय

फ्लोरिडाको तटमा विमान दुर्घटना हुँदा चार जनाको मृत्यु

By खबरहब

April 07, 2023

टालाहासी– अमेरिकाको फ्लोरिडा राज्यमा एउटा विमान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । फ्लोरिडाकाे तटनजिक विमान दुर्घटना हुँदा दुई जना महिला र दुई जना पुरुषको मृत्यु भएको प्रहरीले बताएको छ ।

भेनिस विमानस्थलबाट उडेको केही बेरमा विमान बुधबार राति साढे नौ बजे दुर्घटना भएको जनाउँदै प्रहरीले विमानको भग्नावशेष बिहीबार बिहान पानीमुनि भेटिएको बताएको छ ।

फ्लोरिडाको मत्स्य तथा वन्यजन्तु संरक्षण आयोग, तट रक्षक र सुरक्षाकर्मीको सहायतामा खोजिन गरिएको थियो । दुर्घटनाग्रस्त विमानमा चार जना मात्र यात्री रहेका पनि प्रहरीको प्रारम्भिक प्रतिवेदनमा जनाइएको छ ।

गत डिसेम्बरमा पनि भनिसमा सानो विमान दुर्घटना हुँदा तीन जनाको ज्यान गएको थियो । छोटो अवधिमा लगभग एकै स्थानमा एकै प्रकृतिका विमान दुर्घटना हुनुलाई नागरिक उड्डयन विभागका अधिकारीहरूले ती दुर्घटनाका बीच केही सम्बन्ध थियो वा थिएन भन्ने निष्कर्षमा तत्काल पुग्न नसकिने बताएका छन् । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।