सांकेतिक तस्बिर

अपराध

सेनाको साइबरस्पेसमा साइबर हमला गरेको आरोपमा एक जना पक्राउ

By खबरहब

April 07, 2023

काठमाडौँ- नेपाली सेनाको साइबरस्पेसमा अनधिकृत पहुँच पुर्‍याउने उद्देश्यले साइबर आक्रमण गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

नेपाल प्रहरी साइबर ब्युरोले नेपाली सेनाको साइबरस्पेसमा अनधिकृत पहुँच पुर्‍याउने उद्देश्यले विभिन्न समयमा साइबर आक्रमण गरेको आरोपमा स्याङ्जाको वालिङ नगरपालिका–१० का २१ वर्षीय सागर ढकाललाई पक्राउ गरेको जनाएको छ ।

सर्भरमा साइबर आक्रमण भइरहेको भनी नेपाली सेनाबाट अनुसन्धान तथा कारबाहीका लागि पत्र प्राप्त भएपछि गरिएको अनुसन्धानमा ढकालको संलग्नता देखिएको प्रहरीले जनाएको छ । उनलाई पोखरा–१९ बाटुलेचौरबाट बिहीबार पक्राउ गरिएको प्रहरी उपरीक्षक पशुपति कुमार रायले जानकारी दिए ।

काठमाडौं जिल्ला अदालतले शुक्रबार ढकाललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको र सोहीबमोजिम अनुसन्धान कार्य थालिएको उपरीक्षक रायको भनाइ छ ।