आजको युग विस्तारै सूचना प्रविधिमा विस्तारित भइरहेको छ। यसको सदुपयोग एकातिर छ भने यसको दुरुपयोग दिनानुदिन बढ्दै छ। प्रविधिको जमानामा हामीले यो प्रविधिलाई कसरी आत्मसाथ गरेका छौँ। पछिल्लो समयमा विभिन्न प्रकारका आर्थिक कारोबार तथा काम सूचना र प्रविधि अर्थात् कम्प्युटरको माध्यमबाट गर्ने गर्दछौँ। यसलाई सुरक्षित राख्न नसक्दा वा सुरक्षित रूपमा प्रयोग गर्न नजान्दा धेरैले दुःख पाइरहेका छन्। पटकपटक यसमा जोडिएका खराब पक्ष बढ्दै गएका छन्। यो खराब पक्षलाई रोक्ने कसरी ? किन हुन्छ सूचना र प्रविधिको सदुपयोग ? यस विषयमा आधारित रहेर क्यान महासंघका महासचिव एवम् सूचना सुरक्षा परीक्षक अर्थात् आईटी अडिटर चिरञ्जीवी अधिकारीसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :
सूचना प्रविधिको क्षेत्रमा नेपाल कस्तो अवस्थामा छ ? सूचना क्षेत्रका कुरा गर्दा नेपालमा धेरै आईटी कलेज विकास भएका छन्। क्यान महासंघले नीतिगत रूपमा डेटा उपलब्ध भएमा सहजै तरिकाले सरकारलाई सहयोग गर्न सक्ने थियो। पहिलो कुरा हाम्रो कति जनशक्ति रहेको छ भनेर अनुसन्धान हुनुपर्छ। हामी सूचना प्रविधिबाट समृद्धितर्फ जान कहाँ कमजोर भएका छौँ। त्यसमा ध्यान दिनुपर्छ। सिस्टममा समस्या जहाँ पनि पर्छ। त्यसलाई मिलाउन नसक्नु नेपालीको गल्ती हो। सूचना प्रविधिबाट समृद्धि ल्याउन सरकारले ठोस उपाय बनाएको कसैले देख्दैन। सूचना सही रूपमा प्रयोगमा ल्याउन सक्नुपर्छ।
सरकारी वेबसाइट सुरक्षित नरहेको भन्ने छ, वेबसाइटमा समस्या आएका कारण विमानस्थल बन्द भएको पनि सुनिन्छ, यसलाई कसरी लिने ? साइबर थ्रेटविरुद्ध हामी कसरी लड्छौँ ? यसमा कुनकुन स्टेक होल्डर संलग्न हुने भन्ने प्रमुख विषय हो। यसमा एक अर्कोको साथ र सहयोगको खाँचो हुन्छ। सरकारले नीति बनाएको छ। तर त्यसले मात्र हुँदैन। सरकारमा साथ र सहयोगको भावना पनि हुनुपर्छ। नेपालमा सरकारी अन्तर्राष्ट्रिय डेटा सेन्टर छ, त्यसमा पनि धेरै समस्या छन्। समाधानको उपाय भन्दा पहिला समस्या पहिचान आवश्यक हुन्छ। सुरुमा सरकारले आफ्ना समस्या पहिचान गरेर समाधानको खोजी गर्नुपर्छ।
लोकसेवामा देखिएको समस्यालाई समाधान गर्न हामीसँग दक्ष जनशक्ति नभएको हो ? लोकसेवा आयोगमा आवेदन भरेको डेटा हराउनु सामान्य कुरा होइन। यसमा गल्ती भयो भनेर सरकारले उन्मुक्ति पाउनु हुँदैन। कतिपय कर्पोरेट हाउसमा पनि डेटा लिक भएका घटना छन्। त्यसलाई ध्यान दिनुपर्छ। जुन डेटा बाहिर जान्छ त्यसको जिम्मेवारी लिने कसले ? कसैले जिम्मेवारी लिएको पनि देखिएन। त्यसको लागि जिम्मेवारीबोध गर्न सक्नुपर्ने हुन्छ।
सूचना चोरी गर्ने संयन्त्र सलबलाएको बताइन्छ, यस्तो हुनुको कारणहरू के के हुन सक्छन् ? साइबर थ्रेटविरुद्ध लड्नको लागि सरकारले मापदण्ड बनाएर अगाडि बढ्न सक्नुपर्छ। साइबर सेक्युरेटीबारे नेपाली जनतालाई शिक्षित बनाउनु अति आवश्यक छ। जबसम्म यो विषयमा नेपाली शिक्षित हुँदैनन्। तबसम्म साइबर सुरक्षा असम्भव हुन्छ। जबसम्म त्यसलाई व्यवहारमा अवलम्बन गरिदैन, तबसम्म यो समाधान हुँदैन। सानो कक्षादेखि नै सूचना प्रविधिका सम्बन्धमा पाठ्यपुस्तक राखेमा दक्षताको वृद्धि हुन्छ।
हामीले कुनै लिंक हेर्दा कस्तो र कुना बेला असुरक्षित हुन्छ भनेर कसरी थाहा पानउने ? जसरी हामीले बच्चालाई चकलेट देखाएर खाना खुवाई रहेका हुन्छौँ, त्यसरी नै इन्टरनेटमा हामीलाई फिसिङ लिङ्क आइरहेको हुन्छन्। जस्तो इमेलमा हामीलाई सोल्टी होटेलमा सलमान खान आउँदै छन्, तपाईंलाई आमन्त्रण गरिएको छ भन्ने सन्देश आएको हुन्छ। हामी पूरा कुरा नबुझी क्लिक गरेर फारम भर्छौँ, अनि कता कहाँ के के हुन्छ पत्तो नै हुँदैन। यसरी पनि हाम्रो डेटा चोरी हुने सम्भावना रहन्छ। हामीले आफ्नो चिजको आफै सुरक्षा गर्न सक्नुपर्छ। (एभिन्युजसँकागे सहकार्यमा तयार अन्तरवार्ता
प्रस्तुति : कुसुम गौतम