ब्रेकिङ स्टोरी

आर्थिक अवस्था सुधारका लागि बजेट सकारात्मक : सांसद बडू

By खबरहब

June 07, 2023

काठमाडौँ– सांसद दीलेन्द्रप्रसाद बडूले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले मुलुकको समग्र आर्थिक अवस्थामा सुधार ल्याउनका लागि सकारात्मक प्रयास गरेको दाबी गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८०-८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा उनले भने, ‘आगामी आर्थिक वर्षको बजेटले पुँजीगत खर्च बढाउने र अनुत्पादक खर्चलाई घटाउने प्रयत्न गरेको छ । बजेट कार्यान्वयन, समयसीमासहितको कार्ययोजना र कार्यनीति पनि सरकारले तयार पारेको छ ।’

उनले आर्थिक वर्षको पहिलो तीन महिनाभित्रमा प्रक्रियागत कामसक्ने र कात्तिकबाट फिल्डका काम गर्ने भनिएको प्रति प्रशंसनीय भएको बताएका छन् । आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको अनुगमनको प्रभावकारिता बढाउने तथा २० वटा सरकारी निकायलाई खारेजी तथा गाभ्ने सरकारको निर्णय सकारात्मक रहेको उनको भनाइ छ ।