फाइल तस्बिर

ब्रेकिङ स्टोरी

कक्षा ११ मा भर्नाको अवधि कम्तिमा १५ दिन राख्न काठमाडौँ महानगरको आग्रह

By खबरहब

July 07, 2023

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले महानगरभित्रका शिक्षण संस्थाहरूलाई कक्षा ११ मा विद्यार्थी भर्ना लिँदा कम्तीमा नतिजा प्रकाशित भएको १५ दिनसम्मको समय राख्न आग्रह गरेको छ । 

महानगर अन्तर्गतको शिक्षा विभागले आज एक सूचना जारी गर्दै देशका टाढा तथा दुर्गम क्षेत्रबाट काठमाडौँ आउने विद्यार्थीहरूले आवेदन दिने अवसरबाट वञ्चित भएको गुनासोप्रति ध्यानाकर्षण भएको जनाउँदै सो अवधिको भर्ना कार्यक्रम तय गर्न आग्रह गरेको हो ।

महानगरले शिक्षण संस्थाहरूले फरक फरक भर्ना तालिका तय गरेर छोटो अवधि राख्दा दुर्गम क्षेत्रका विद्यार्थीलाई असर पर्ने भएकाले त्यसतर्फ ध्यान दिन अनुरोध पनि गरेको छ । 

राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालको एसईईको नतिजा हिजो प्रकाशित गरेको छ ।

यस्तै, काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति कोटा निर्धारणको जानकारी पठाउन पनि शिक्षण संस्थाहरूलाई निर्देशन दिएको छ । 

महानगरपालिकाले महानगर अन्तर्गत सञ्चालित कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने सबै शिक्षण संस्थाहरूलाई शैक्षिक सत्र २०७९–८० मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीको संख्या र विवरण असार मसान्तभित्र पठान पनि सूचित गरेको छ ।