देश/प्रदेश

कवाडी पसलमा आगलागी थप एकको मृत्यु

By खबरहब

December 07, 2023

सुन्दरहरैँचा– मोरङको विराटनगर महानगरपालिका–७ स्थित कवाडी पसलमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । 

बुधबार दिउँसो अचानक आगलागी हुँदा विराटनगर–६ का ४० वर्षीय दीपक मण्डल, ५५ वर्षीया सुशीला पासवान र ६४ वर्षीय सुनिता कामतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिएका छन् । 

उनले पासवानको घटनास्थलमा नै मृत्यु भएको तथा मण्डलको उपचारका लागि अस्पताल लैजाने क्रममा र कामतको किर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको जानकारी दिएका छन् । 

आगोमा परी घाइते भएका विराटनगर–६ का ५८ वर्षीय किशोर पासवान, ६० वर्षीया रिता सरदार र कटहरी गाउँपालिका-६ की ३० वर्षीया पिङ्की कामतको किर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  

घाइतेहरूलाई नेपाली सेनाको एयर एम्बुलेन्सद्वारा उपचारका लागि लगिएको हो । उक्त आगो छ वटा दमकल, स्थानीय र नेपाल प्रहरीको सहयोगमा नियन्त्रण गरिएको थियो । साथै आगलागीबाट करिब रु ४० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।