पछिल्लो समय मानिसको मुख स्वास्थ्य धेरै समस्या आएको चिकित्सकहरूले बताएका छन्। मुख स्वस्थ्य भए सिंङगो शरीर स्वस्थ हुने पनि उनीहरू बताउँछन् । मुख स्वस्थमा दाँतले खेलेको भूमिका र कसरी दाँत र मुखको ख्याल गर्ने त ? साथै कस्तो ब्रस र मन्जनको प्रयोग गर्ने ? बालबालिकाको सवालमा के गर्ने लगायतका विषयमा आधारित भएर खबरहबका लागि वरिष्ठ दन्त चिकित्सक डा. हरिश जोशीसँग विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश:
मुखमा कस्तो समस्या देखिएको छ ? मुख स्वास्थ्यमा धेरै कुराहरू जोडिन्छ । मुख मान्छेको सौन्दर्यदेखि लिएर स्वस्थ पाचन प्रणालीसँग पनि जोडिन्छ । मुख स्वस्थमा समस्या आयो भने स्वस्थमा पनि धेरै असर पर्दछ। पहिला नेपालमा मुख स्वास्थ्यको बारेमा जनचेतना फैलिएको थिएन तर अहिले धेरै जनचेतना फैलिएको छ । गाउँ गाउँमा पनि धेरै कार्यक्रमहरू सञ्चालन भइरहेको हुँदा यो समस्या धेरै कम भएको छ । उपचारका उपकरण पनि अहिले धेरै आएका छन् । धेरै सुविधा भएको कारणले यो रोग समयमा पहिचानमा भएको छ । मुखमा धेरै हुने रोग भनेको दाँत किराले खाने समस्या हो । सुरुमा दाँत किराले खाँदा कसैले वास्ता गर्दैनन् । त्यसले पछि दीर्घकालीन रूपमा जस्तो गिजा पाक्ने दाँत झर्ने सम्मको समस्या आउनसक्छ । खानेकुराहरू मुखमा अड्काई राख्ने समयमा ब्रस नगर्ने, कुल्ला नगर्ने हुँदा दाँत माझ्दा रगत पनि आउन सक्छ र समय नपुगी दाँत फाल्नु पर्ने वा निकाल्नु पर्ने अवस्था पनि आएको छ । शरीरमा भएका अन्य रोगजस्तो सुगरका बिरामीमा पनि दाँत हल्लिने र रगत बग्ने हुन्छ ।
सानै उमेरमा पनि दाँत फाल्नु पर्ने अवस्था किन आउँछ ? बच्चा बेलामा लिटो र दूध खुवाउँदा त्यो मुखमा रहयो भने त्यसले दाँतको इनामेल खियाउँछ । त्यसैले दूध खुवाएपछि थोरै पानी खुवाउने, कुल्ला गराउने र ब्रस गराउने गर्नु पर्दछ । पहिला पहिला बच्चा रोयो भने चिनी खुवाउने चलन थियो त्यो हटेर अहिले क्यान्डिहरु खुवाउने चकलेट लगायतका गुलिया कुरा खुवाउने गरिन्छ । त्यो कम गर्ने र पानीले कुल्ला गराई हाल्नु पर्दछ र प्रत्येक ६ महिनाको अन्तरालमा दन्त चिकित्सकलाई भेट्नु पर्दछ ।
सुरुमा समस्यालाई वेवास्ता गर्दा पछि कस्तो समस्या देखा पर्दछ ? दाँत किराले खाएर समयमा उपचार भएन भने हाम्रोमा दाँत किराले खायो भने फार्मेसिमा गएर दुखाई कम हुने औषधि खानु हुन्छ । त्यसले गर्दा पछि गएर निकाल्नु पर्ने हुन्छ । तर समयमा अस्पताल जाँदा जोगाउन सकिने रहेछ भने भरेर जोगाइन्छ । निकाल्नु पर्ने अवस्था रहेछ भने त्यो निकालेर अर्को राख्न सकिन्छ ।
पहिलाको जस्तै पछि राखेको दाँतले काम गर्छ त ? अहिले इम्प्लान भनेको रोप्ने हो भित्र जडान गर्ने हो । पहिलाको हाम्रो दाँतले जसरी काम गर्छ त्यसले पनि त्यसरी नै काम गर्दछ ।
सिमेन्ट भरेको दाँतले कसरी काम गर्छ ? सिमेन्ट भरेको दाँतले पहिलाको जस्तै १०० प्रतिशत त गर्ला भन्न सकिँदैन तर ९९ प्रतिशतको काम गर्दछ ।
बिहान देखि बेलुकासम्म मुखको हेरचाह कसरी गर्ने ? हामीले खाने खानेकुरादेखि हाम्रो व्यवहारमा निर्भर हुन्छ यो । बिहान र बेलुका खाना खाएपछि दिनमा दुई पटक दाँत माझ्ने, मनतातो पानीमा नुन राखेर कुल्ला गर्ने । लसुन प्याज खाने मान्छेको मुख गनाउँछ । यस्तो कुरा खाएपछि दाँत माझ्नुपर्छ । ब्रस गर्ने र नुन पानीले कुल्ला गर्दा यो समाधान हुन्छ । पान, सूर्तीजन्य बस्तुको सेवनले पनि दीर्घकालीन रूपमा क्यान्सर समेत हुन सक्छ ।
ब्रस गर्दा कसरी गर्ने ? धेरै घोटेर ब्रस गर्दा, दाँतलाई खियाउँदै जान्छ र पछि थोरै चिसो पर्दा पनि सिरीङ सिरीङ हुने हुन्छ । दाँतको चारै तिर गिजालाई पनि सफा गर्ने गरी गर्ने । त्यसैले सही तरीकाले ब्रस गर्ने र सही ब्रसको छनोटले यो रोकथाम गर्न सकिन्छ । दैनिक नरम ब्रसको प्रयोग गर्ने, त्यसैले वर्षमा दुई पटक दन्त चिकित्सकलाई भेट्दा कुनै समस्या भए र शरीरमा अन्य रोगहरू लागे पनि पत्ता लाग्छ ।
कस्तो मन्जनको प्रयोग गर्ने ? मन्जनले कुनै पनि समस्या हुँदैन । किनभने मन्जन बनाउँदा त्यसको क्वालिटी जाँच गरेर बनाएको हुन्छ ।
वरिष्ठ दन्त चिकित्सक भएको नाताले के सन्देश दिन चाहनु हुन्छ ? मुख स्वास्थ्यलाई जोगाउनु होस यो भनेको जीवनको सौन्दर्य हो । यदि कुनै समस्या छ भने दर्ता वाला दन्त चिकित्सककोमा दाँत देखाउनु होला भन्न चाहन्छु ।
(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)