फाइल तस्वीर

राजनीति

वाम एकता कार्यदलले आजदेखि काम थाल्ने

By खबरहब

January 08, 2023

काठमाडौं – नेकपा (माओवादी केन्द्र)ले शनिबार गठन गरेको वाम दल एकता कार्यदलले आइतबारदेखि काम थाल्दैछ । माओवादीले उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा शनिबार वामपन्थी दलसँग एकता गर्न पाँच सदस्यीय कार्यदल बनाएको हो । कार्यदलमा संयोजक महरासहित माओवादी केन्द्रका महासचिव देव गुरुङ, उपमहासचिव जर्नादन शर्मा, सचिव शक्ति बस्नेत र गिरिराजमणि पोखरेल सदस्य रहेका छन्।

कार्यदलले संसद्भित्र र बाहिर रहेका सबै दलसँग एकताको लागि छलफल गर्नेछ । समिति सदस्य गुरुङका अनुसार कार्यदलले सबै दलसँग कुराकानी गरेर एकताको लागि पहल गर्नेछ ।

उनका अनुसार एकता हुन नसकेका दलसँग वाम मोर्चा गर्ने तयारी भएको छ । वाम एकताका लागि माओवादीले अग्रसरता देखाएको हो । यसै विषयमा शनिबार बिहान माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसँगको भेटमा छलफल गरेको बताइएको छ ।