फाइल फोटो

ब्रेकिङ स्टोरी

मा‌‌ओवादीपछि नेसपाले बनाउँदै वार्ता टोली

By खबरहब

January 08, 2023

काठमाडौँ – नेकपा माओवादी केन्द्रले वाम दलहरुबीच एकताको पहल गर्न वार्ता टोली गठन गरेको भोलिपल्ट डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले पनि वार्ता टोली गठन गर्ने भएको छ ।

आइतबार बिहान ११ बजे पार्टी कार्यालय तिनकुनेमा बस्ने राजनीतिक समितिको बैठकबाट वार्ता टोली गठन गर्ने तयारी भइरहेको नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिएका छन्।

गत मंसिर ४ को निर्वाचन नेसपाले माओवादी केन्द्रको चिह्नबाटै लडेको थियो । त्यसअघि देखिनै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेसपा अध्यक्ष डा. भट्टराईबीच पार्टी एकताबारे छलफल चल्दै आएको छ । शनिबार पनि प्रचण्ड र बाबुरामबीच छलफल भएको थियो । लगत्तै बसेको नेकपा माओवादी केन्द्रको बैठकले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो । दुवै कार्यदल बनेसँगै माओवादी र नेसपाबीचको एकताका लागि छलफल थालिने बताइएको छ।

यसैगरी जसपा र एकीकृत समाजवादी पनि एकताका लागि आन्तरिक छलफललाई तीव्रता दिएका छन्। त्यसका लागि यी दुवै दलले वार्ता टोली बनाएका छन् ।