ब्रेकिङ स्टोरी

प्रचण्डलाई विश्वासको मत पाउने विश्वास

By सुनिता भूल

January 08, 2023

काठमाडौँ : सरकारका न्युनतम साझा कार्यक्रम तय गरेको सत्ता गठबन्धनका शीर्ष नेताहरुसँग आन्तरिक छलफल गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउने विश्वास गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा सरकारका न्युनतम साझा कार्यक्रम तय गरेपछि प्रचण्डले प्रधानमन्त्रीमा विश्वासको मत पाउने सम्भावना बढेको हो । यसअघि अन्यौल रहेका जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले पनि प्रचण्डलाई विश्वासको मत दिने सम्भावना छ ।

जनमतले पक्कापक्की भएर सरकारमा मन्त्री पठाएपनि नागरिक उन्मुक्ति पार्टी अनिर्णित थियो । तर सरकारका न्युनतम साझा कार्यक्रममा एकसाथ देखिएपछि उसले पनि दिने संकेत देखाएको छ । यद्यपी यसमा नागरिक उन्मुक्ति पार्टीको निर्णय स्पष्ट छैन ।

रेशम चौधरीको रिहाईको माग गर्दै आएको नागरिक उन्मुक्ति पार्टीले माग पूरा नभएसम्म स्पष्ट निर्णय गरेको छैन । प्रचण्डले एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीदेखि माओवादीसम्मको विश्वास पक्का पाउने भएका छन् ।

प्रचण्डको आग्रह मानेको खण्डमा माधव नेपालको पार्टी नेकपा एकिकृत समाजवादी पार्टीका सांसदले पनि विश्वासको मत दिने सम्भावना छ । त्यो सम्भावना बढेर हिजोआज कांग्रेस सभापति शेरबहादुर देउवागुटसम्म पुग्ने देखिन्छ ।

दुई वर्षपछि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई छाडेर कांग्रेससँग गठबन्धन गर्दै प्रचण्डले फेरि सरकार चलाउन पाउने सम्भावना छ । त्यसका लागि खुकुलो हुन देउवा अहिले भित्री रुपमा प्रचण्डलाई विश्वासको मत दिन लगाउने देखिन्छ ।

किनकी पाँच वर्षअघि ओलीले धोका दिएका कारण अहिलेको गठबन्धन भत्काउन पनि देउवा प्रचण्डलाई दुई वर्ष फेरि प्रधानमन्त्री बनाउन तयार देखिन्छन् । अहिले एमाले र पछि कांग्रेससँग मिलेर प्रचण्ड समग्रमा चार वर्ष प्रधानमन्त्री बन्ने सम्भावना छ ।

यो सम्भावना जिवित राख्न र प्रचण्डलाई आफूतिर तान्न देउवा यतिबेला विश्वासको मत दिँदा पुनर्विचार गर्ने पक्षमा छन् । जुन कुरा कांग्रेस संस्थापनइतर समूहमा स्पष्ट नभएपनि देउवा गुटले भने केही न केही राजनीतिक निर्णय गर्ने सम्भावना देखिन्छ ।

प्रचण्डले यतिबेला विश्वासको मत पाएको खण्डमा दुई वर्ष ढुक्कले चलाउनेछन् । त्यसपछि ओलीप्रति इमान्दार नबनेर प्रचण्ड कांग्रेसमा ढल्कने सम्भावना पनि छ । सत्ताधारी बन्न एमाले र कांग्रेसको लडाईबाट फाइदा लिएर प्रचण्ड फेरि एकपटक नेपालको सत्तामा आफू हावी हुने सम्भावना छ ।

क्षणभरमै कांग्रेसलाई धोका दिएर एमालेको बलमा प्रधानमन्त्री बनेका प्रचण्ड भोलिका दिनमा फेरि त्यसरी नै एमालेलाई धोका दिएर कांग्रेसको बलमा प्रधानमन्त्री बन्न सक्छन् । किनकी यतिबेला प्रचण्ड ओलीप्रति विगतको रिस फेर्न इच्छुक देखिन्छन् ।

त्यसैले पनि सहजै विश्वासको मत पाउने सम्भावना भएका प्रचण्डले दुई वर्ष मात्रै होइन, आगामी चार वर्ष नेपाल सरकारको नेतृत्व गर्ने सम्भावना धेरै छ । तर त्यसका लागि विश्वासको मत पाउँदा र पाइसकेपछि आगामी दिनमा प्रचण्ड नेतृत्वको सरकार कसरी अगाडि बढ्छ भन्ने कुराले धेरै अर्थ राख्छ ।