अन्तर्राष्ट्रिय

चीनद्वारा पाकिस्तानको सिन्धमा कार्यरत चिनियाँ कामदारको सुरक्षाप्रति चिन्ता व्यक्त

By खबरहब

January 08, 2023

काठमाडौँ– चीनले पाकिस्तानको सिन्ध प्रान्तको सरकारसमक्ष आफ्ना कामदारको सुरक्षाप्रति चिन्ता व्यक्त गरेको छ । यस प्रान्तमा कार्यरत आफ्ना कामदारलाई अज्ञात सशस्त्र समूहले धम्की दिने गरेको भन्दै चीनले सिन्ध सरकारसमक्ष सुरक्षाको माग गरेको पाकिस्तानबाट प्रकाशित हुने इन्तखाब दैनिकले उल्लेख गरेको छ ।

सिन्ध प्रान्तको मालिरमा प्रसारण लाइनको ग्रिड स्टेशन मर्मतका क्रममा रहेका आफ्ना कामदारलाई धम्की आएको उक्त कार्यको जिम्मा पाएको चिनियाँ कम्पनीले उल्लेख गरेको छ ।

उक्त कम्पनीले आफ्ना कामदारसँग सशस्त्र समूहले मोटो रकम माग गरेको र नदिए नराम्रो परिणाम भोग्नुपर्ने धम्कीसमेत दिएको जनाएको छ ।

पाकिस्तानको सिन्ध प्रान्तमा बेवास्ता, अनियमितता, भ्रष्टाचारजस्ता कारणले सुरक्षा व्यवस्थामा चुनौति रहेको बताइन्छ ।