फाइल तस्वीर

राजनीति

एमाले उम्मेदवारलाई राष्ट्रपति बनाए संविधान नै दुर्घटनामा पर्ने खतरा छ : महामन्त्री थापा

By खबरहब

February 08, 2023

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले उम्मेदवारलाई राष्ट्रपति बनाए संविधान नै दुर्घटनामा पर्ने खतरा हुने बताएका छन् ।

बुधबार काठमाडौंमा लोकतन्त्र संवाद केन्द्रले आयोजना गरेको ‘आजको नेपाली राजनीति र लोकतान्त्रिक संस्करणको सवाल विषयक विचार गोष्ठीमा धारणा राख्दै महामन्त्री थापाले एमाले उम्मेदवारलाई राष्ट्रपति बनाए त्यस्तो राष्ट्रपति कठपुतली हुने र संविधान नै दुर्घटनामा पर्ने खतरा हुने बताएका हुन् ।

उनले एमालेले प्रस्ताव गर्ने राष्ट्रपतिको उम्मेदवारलाई हराउने र आफ्ना उम्मेदवारको पक्षमा भोट माग्ने बताए । थापाले पाँच वर्षका लागि भनेर गएका दलले प्रधानमन्त्रीको बाहानामा गठबन्धन जोगाउन नसक्नुमा जनतासामु क्षमा माग्नुपर्ने धारणा राखे ।

उनले पुस १० गते एमालेले कांग्रेसलाई धोका दिएको आरोप लगाए । महामन्त्री थापाले रास्वपालाई जनताले कल्पना गरेभन्दा धेरै मत दिएको भन्दै उक्त पार्टीले जनतालाई सरकारमा जानु र बाहिरिनुको जवाफ दिनुपर्ने उल्लेख गरे ।

त्यस्तै कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले संसदमा अहिलेको व्यवस्थामाथि विषवमन भइरहेको र जात्रा चलिरहेको टिप्पणी गरिन् । उनले देश परिवर्तन गर्ने र त्यसको कार्यान्वयन गर्ने ठाउँमा पुगेकाहरुले कस्तो मुलुक बनाउने भन्ने लक्ष्य लिनुपर्ने धारणा राखिन् ।

झाँक्रीले मुलुकमा भएका परिवर्तनलाई संस्थागत गर्नका लागि जिम्मेवार भएर अघि बढ्नुपर्ने पनि बताइन् ।