देश/प्रदेश

योगमाया न्यौपानेको विद्रोह विश्वका लागि समेत नौलो र साहसिक : राष्ट्रपति भण्डारी

By खबरहब

February 08, 2023

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन शासकका विरुद्धमा क्रान्ति योद्धा योगमाया न्यौपानेको नेतृत्वमा अरुण नदीमा गरिएको जलसमाधि विश्वका लागि समेत नौलो र साहसिक विद्रोह रहेको बताएकी छिन् ।

आज भोजपुरको साल्पासिलिछो–१ गौडेनीमा आयोजना गरिएको योगमायाको प्रतिमा अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।

“तत्कालीन शासकहरूका विरुद्ध योगमायाले गरेको विद्रोह विश्वको लागि नौलो छ”, राष्ट्रपति भण्डारीले भनिन्, “यो पुण्यभूमिलाई धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न आवश्यक छ ।” सतिप्रथा विरुद्ध योगमायाले अतुलनीय योगदान पुर्‍याएको उनको भनाइ छ । योगमाया र षडानन्दको योगदान रहेको यहाँका क्षेत्रको विकासमा ध्यान दिनुपर्ने राष्ट्रपति भण्डारीले बताइन् ।

राष्ट्रपति भण्डारीको उपस्थितिमा षडानन्द नगरपालिका–१ मझुवाबेँसीमा रहेको योगमायाको समाधिस्थल पार्कको प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्की शिलान्यास गरे । विस्तृत परियोजना प्रतिवेदन तयार गरेर निर्माण गर्न लागिएको पार्कमा योगमायासँगै जलसमाधि लिएका ६७ जनाको प्रतिमा राख्ने लक्ष्य रहेको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले जानकारी दिए ।