समाचार

तराई मधेसका जिल्लामा आज होली मनाइँदै

By खबरहब

March 08, 2023

वीरगञ्ज– पर्सासहित तराई मधेसका जिल्लामा आज रङगैरङ्गको पर्व फागु अर्थात् होली पर्व मनाइँदैछ । तिथिमा घटबढका कारण हिजो तराई मधेसमा मनाउनुपर्ने होली आज मनाउन लागिएको हो । 

कतिपयले भने आफ्नो इच्छाअनुसार हिजै होली मनाए पनि अधिकांशले आज मनाउन लागेका छन् । तराई मधेसमा यस वर्ष पनि तीन दिन नै होली मनाइने भएको छ । तराई मधेसमा होलिका दहन मंगलबार बिहानै सम्पन्न भए पनि तिथिमा घटबढका कारण होली आज मात्र मनाइने वीरगञ्जका स्थानीयवासी लक्ष्मण साहले बताए। 

मंगलबार बेलुका ५ बजेपछि मात्रै एकम अर्थात् प्रतिपदा सुरु हुने भएकाले आज होली पर्व मनाउन लागेको उनको भनाइ छ । तर कतिपयले भने मंगलबार माछामासु बार्ने चलन रहेकाले आज मात्रै होली खेल्ने तर्क गरेका छन् । 

मंगलबार बारेको कारणले भन्दा पनि प्रतिपदा तिथि ढिलो गरी सुरु हुने भएकाले एक दिन ढिलो होली मनाउन लागेको साहको कथन छ । यसैबीच, होली पर्वका अवसरमा वीरगञ्जको विभिन्न स्थानमा आज सांस्कृतिक कार्यक्रम तथा कन्सर्टको आयोजना गरिएको छ ।