राजनीति

एमालेलाई सिध्याउन र ध्वस्त पार्न भएका अनेक षडयन्त्र चिर्न सफल भएका छौँ : अध्यक्ष ओली

By खबरहब

April 08, 2023

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई ध्वस्त पार्ने सबै षडयन्त्रलाई चिर्न सफल भएको बताएका छन् ।

शनिबार काठमाडौंमा अखिल नेपाल महिला संघको सातौँ राष्ट्रिय सम्मेलनको उद्घाटनमा अध्यक्ष ओलीले एमालेलाई सिध्याउन र ध्वत पार्न अनेक षडयन्त्र भएको भन्दै त्यसलाई चिरेर अहिले एमालेलाई बलियो र सबल पार्टी बनाएको बताए ।

आजको अवस्थामा पार्टी सुरक्षित भएर देशको प्रमुख पार्टीको हैसियतमा उभिन सफल भएको उनको भनाइ छ। उनले एमाले फुटाउनका लागि विचार नभई पद बाँड्ने खेल भएको र त्यसलाई पनि पराजित गरिएको उल्लेख गरे ।

ओलीले आज एमालेभित्र कुनै गुटबन्दी नरहेको भन्दै स्वार्थका आधारमा नचल्न निर्देशन दिए । उनले समृद्ध नेपाल सुखी नेपाली बनाउने लक्ष्य र नेपाली जनतालाई भ्रमबाट मुक्त गर्नका लागि महिला संघ एकढिक्का भएर लाग्न आग्रह गरे ।