प्रवास

१४ बुँदे प्राग घोषणापत्र जारी गर्दै एनआरएनए युरोपेली क्षेत्रीय सम्मेलन सम्पन्न

By खबरहब

May 08, 2023

प्राग– गैरआवासीय नेपाली संघ (एनआरएनए) को १५ औँ क्षेत्रीय सम्मेलन १४ बुँदे प्राग घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। चेक रिपब्लिकको राजधानी प्रागमा ५, ६ र ७ मेमा ३ दिनसम्म चलेको सम्मेलनले १४ बुँदे  प्राग घोषणापत्र जारी गरेको छ ।

सम्मेलनमा प्रमुख अतिथिको रूपमा परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउद, विशिष्ट अतिथिको रूपमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, नेपाली कांग्रेसको संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झा, नेकपा माओवादीका नेता तथा संविधान सभा सदस्य खिमलाल देवकोटा लगायतको विशेष उपस्थिति थियो । सम्मेलनमा भएका विभिन्न सत्रमा उपस्थित प्रतिनिधिहरू स्मार्ट एनआरएनए, सदस्यता वितरण, निर्वाचन प्रक्रिया, एनआरएनए विधान र राष्ट्रिय समन्वय परिषद्हरू बीचको सञ्जालको बारेमा छलफल भयो ।

सम्मेलनमा राष्ट्रिय समन्वय परिषद्को प्रतिवेदन, महिला सम्मेलन, एनआरएनबीचको व्यापक एकता (मिलाप), एनआरएनए मेघा प्रोजेक्ट, नेपाल प्रवर्द्धन, १० अर्ब लगानी, नेपाली नागरिकताको निरन्तरता, प्रवासबाट मतदानको अधिकार, सामाजिक सुरक्षा कोष, सीप, ज्ञान तथा प्रविधि हस्तान्तरण लगायतका विषयमा समेत व्यापक छलफल भयो । विश्वका ३९ देशका करिब ३०० प्रतिनिधिहरू सहभागी भएको सम्मेलनमा उपस्थित प्रतिनिधिहरूको सुझावका आधारमा प्राग घोषणापत्र जारी गरिएको हो ।

गैरआवासीय नेपाली संघ १५ औँ क्षेत्रीय सम्मेलन – प्राग घोषणापत्र   

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १५औँ क्षेत्रीय सम्मेलन चेक रिपब्लिकको राजधानी प्रागमा मे ५, ६ र ७, २०२३ मा भब्य रूपमा सम्पन्न भयो । तीन दिनसम्म चलेको सम्मेलनमा प्रमुख अतिथिको रूपमा माननीय परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउद, विशिष्ट अतिथिकोरूपमा संविधानसभाका अध्यक्ष माननीय सुवास नेम्वाङ, नेपाली कांग्रेसको संसदीय दलका प्रमुख सचेतक माननीय रमेश लेखक, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद माननीय मनिष झा, नेकपा माओवादीका नेता तथा संविधान सभा सदस्य खिमलाल देवकोटा लगायतको विशेष उपस्थिति थियो ।

सम्मेलनमा भएका विभिन्न सत्रमा उपस्थित प्रतिनिधिहरू स्मार्ट एनआरएनए, सदस्यता वितरण, निर्वाचन प्रक्रिया, एनआरएनए विधान र राष्ट्रिय समन्वय परिषद्हरू बीचको सञ्जालको बारेमा छलफल भयो ।

सम्मेलनमा राष्ट्रिय समन्वय परिषद्को प्रतिवेदन, महिला सम्मेलन, एनआरएनबीचको व्यापक एकता (मिलाप), एनआरएनए मेघा प्रोजेक्ट, नेपाल प्रवर्धन, १० अर्ब लगानी, नेपाली नागरिकताको निरन्तरता, प्रवासबाट मतदानको अधिकार, सामाजिक सुरक्षा कोष, सीप, ज्ञान तथा प्रविधि हस्तान्तरण लगायतका विषयमा समेत व्यापक छलफल भयो ।

सम्मेलनमा विश्वका ३९ देशका करिब तीन सय प्रतिनिधिहरू सहभागी भएको सम्मेलनमा उपस्थित प्रतिनिधिहरूको सुझावका आधारमा निम्नानुसारको प्राग घोषणापत्र जारी गरिएको छ ।

१) नयाँ संविधानले गैरआवासीय नेपालीका लागि गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने व्यवस्था गरे पनि संविधान जारी भएको झन्डै आठ वर्ष पछि पनि अझै कार्यान्वयन नभएको अवस्थामा आम गैरआवासीय नेपालीहरूको चासो रहेको नागरिकता सम्बन्धी विधेयकलाई अघि बढाई तत्काल गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा ल्याउन यो सम्मेलन नेपाल सरकार समक्ष हार्दिक अनुरोध गर्दछ ।

२)  गैर आवासीय नेपाली संघको दशौँ महाधिवेशन पश्चात समानान्तर गतिविधि गरि रहेका एनआरएनहरुलाइ हाल भइरहेको वार्ताका माध्यम बाट मूलधारमा समाहित भई एकताको एघारौँ महाधिवेशनमा सहभागी हुन यो सम्मेलन हार्दिक अपिल गर्दछ ।

३) विदेशमा रहेका नेपालीहरूको पैतृक सम्पत्तिको अधिकारलाई सुनिश्चित गर्दै आवश्यक कानुनी व्यवस्था गर्न नेपाल सरकार र राजनीतिक दलहरूसँग यो सम्मेलन अनुरोध गर्दछ । विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरूले नेपालको निर्वाचनमा भाग लिन पाउने, मतदान गर्न पाउने अधिकार (मताधिकार) सुनिश्चित गर्न सम्मानित सर्वोच्च अदालतले समेत निर्देशनात्मक आदेश जारी गरिसकेको परिप्रेक्षमा तत्काल प्रक्रिया मिलाई विदेशमा बस्ने नेपालीहरूको मताधिकार सुनिश्चित गर्न यो सम्मेलन नेपाल सरकारसँग माग गर्दछ ।

४) आगामी अक्टोबर नौ देखि ११, २०२३, सम्म काठमाडौँमा हुने संघको ११ औँ महाधिवेशन तथा विश्व सम्मेलनलाई भव्य रूपमा सम्पन्न गर्नको लागि संघको सदस्यता संघले तय गरेको प्रणालीमार्फत वितरणलाई तीव्र बनाउनको लागि युरोपस्थित सबै राष्ट्रिय समन्वय परिषद्हरूलाई यो सम्मेलन हार्दिक अपिल गर्दछ ।

५)  युवा तथा महिलाहरूको सामाजिक उद्यमशीलता अभिवृद्धिका लागि आवश्यक सहयोग गर्ने, महिला फोरम र युवाहरूको सक्रियतामा सुरु भएको सीप विकास तालिमलाई निरन्तरता दिने र गैरआवासीय नेपाली अभियानको हरेक क्षेत्रमा महिला तथा युवाहरूको सहभागिता सुनिश्चित गराउन यो सम्मेलन पुनः प्रतिबद्धता व्यक्त गर्दै संघको मेघा प्रोजेक्टहरूलाई सफलतापूर्वक अघि बढाउनुको लागि सडक बालबालिका, पढ्दै कमाउँदै जस्ता कार्यक्रमहरू लक्षित समुदायमा शीघ्र शुरु गर्ने प्रतिबद्धता जनाउँदछ ।

६) एनआरएन नेपाल डेभलपमेन्ट फण्डलाई १० अर्ब रुपैयाँबाट ५० अर्ब रुपैयाँ बनाउने लक्ष्यको साथ समृद्ध नेपाल निर्माणमा थप टेवा पुर्‍याउन यो सम्मेलन आह्वान गर्दछ । विद्यमान कानूनी अड्चनहरूलाई सम्बोधन गर्दै यसमा सहभागिताको लागि आम गैरआवासीय नेपालीहरूलाई आह्वान गर्दै शीघ्र कार्यान्वयनमा ल्याउन यो सम्मेलन मार्फत प्रतिबद्धता जनाउँदछ । सो फण्डमा जोडिन चाहने गैरआवासीय नेपालीहरूको लागि यसअघि तोकिएको २५ लाख रुपैयाँ न्यूनतम सिलिङलाई घटाएर २५० डलर मात्र कायम गरिएको छ ।

७)  नेपालका हवाइ कम्पनीहरूलाई युरोपेली संघ (इयू) को कालोसूचीबाट हटाउन पहल गरी नेपालबाट हुने हवाई सेवा यूरोपसम्म विस्तार गर्ने वातावरण बनाउन र युरोपबाट नेपालसँग सिधा हवाई उडान जोड्न नेपाल सरकारलाई आग्रह गर्दछ।

८) नेपाली दूतावास नभएका मुलुकहरू पोर्चुगल, रोमानिया, क्रोएसिया, माल्टा, चेक रिपब्लिक लगायतका देशहरूमा नेपाली राजदूतावास स्थापना गर्न यो सम्मेलन नेपाल सरकार समक्ष पुनः आह्वान गर्दछ । साथै युरोप क्षेत्रभित्र पर्ने आपत्कालीन अवस्थालाई सम्बोधन गर्न क्षेत्रगतरूपमा फाउण्डेशन मार्फत एक अक्षय कोष स्थापना गर्ने निर्णय गर्दछ ।

९)  विभिन्न माध्यमबाट गैरकानूनी रूपमा युरोपका पोर्चुगल, इटाली, टर्की, रोमानिया, क्रोएसिया, सर्विया, लगायतका मुलुकमा भइरहेको अवैध मानव ओसारपसारलाई रोक्न तथा जागरण अभियान सञ्चालन गर्न संघका विभिन्न देशमा संयुक्त संयन्त्र बनाई अघि बढ्न यो सम्मेलन राष्ट्रिय समन्वय परिषद्हरूलाई आग्रह गर्दछ ।

१०) गैरआवासीय नेपालीहरूले विदेशमा आर्जन गरेको ज्ञान र सीपलाई आफ्नो मातृभूमिमा स्थानान्तरण गर्ने कार्यलाई प्राथमिकतामा राख्दै आगामी अक्टोबर महिनामा हुने विज्ञ सम्मेलनमा सहभागी हुन विश्वभर छरिएर रहनु भएका विभिन्न विज्ञहरूलाई हार्दिक अपिल गरिन्छ ।

११)   नेपाल सरकारद्वारा वैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीहरूलाई  सामाजिक सुरक्षा कोषमा जोड्ने कार्यलाई कार्यान्वयनमा ल्याएको प्रति यो सम्मेलन नेपाल सरकारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै सम्पूर्ण गैरआवासिय नेपालीलाई यो सम्मेलन सो कोषमा आबद्ध हुन आह्वान गर्दछ।

१२) विश्व युवा सम्मेलन विशेष गरी युवाहरूलाई उद्यमशील बनाउन जोड दिनुपर्ने र गैरआवासीय नेपाली संघसँग युवा तथा दोस्रो पुस्तालाई अझ प्रभावकारी ढंगबाट जोड्न खेलकुद, भाषा तथा संस्कृतिलाई महत्त्वका साथ प्राथमिकतामा राखी  संस्थागत रूपान्तरण र संघका दोस्रो पुस्तालाई जोड्ने उद्देश्यले आगामी अक्टोबरमा काठमाडौँमा विश्व युवा सम्मेलन गर्ने निर्णय गरिन्छ । क्षेत्रीय सम्मेलन – बैठकलाई प्रभावकारी र समयानुकूल परिमार्जन गर्दै उन्नत बनाउन युवाहरूले गर्नु भएको गम्भीर ध्यान आकर्षण बारे यो सम्मेलन गम्भीर हुँदै महत्त्वका साथ ग्रहण गर्दछ ।

१३) संघको आगामी १६औ यूरोप क्षेत्रीय सम्मेलन गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाको आतिथ्या आगामी २०२४ को मे महिनामा आयोजना गर्ने निर्णय गर्दछ ।

१४) अन्त्यमा यस सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न पाल्नुभएका प्रमुख अतिथि ज्यू, विशिष्ट अतिथि ज्यू, अतिथि ज्यूहरू, कार्यक्रम प्रायोजक, स्वयंसेवक, सञ्चारकर्मी, कलाकार, पत्रकार लगायत आयोजक राष्ट्र एनसीसी चेक रिपब्लिक सहित विश्वभरि रहनुभएका गैरआवासीय नेपालीजनमा हार्दिक कृतज्ञता व्यक्त गर्दछ ।