नेपाली कांग्रेस सरकारमा भएर पनि संकटमा छ। नेपाली कांग्रेसको पछिल्लो केन्द्रीय समितिको बैठकमा उठेका आवाज र व्यक्त भएका विचारलाई हेर्ने हो भने यो पार्टी चरम गुटबन्दीको सिकार भएको छ। नेपाली कांग्रेस २०८४ सालको निर्वाचन केन्द्रित अभियानमा जुट्दै गर्दा नेपाली कांग्रेससँग सत्ता साझेदार अहिलेको गठबन्धनबाट अलग हुने कि सँगै जाने भन्ने निर्मम बहस भइराखेको छ। समग्रतामा कांग्रेस भित्रको राजनीतिक संकट र कांगेसको राजनीतिक भाग्य र भविष्यमा आधारित रहेर नेपाली कांग्रेस केन्द्रीय समितिका सदस्य शंकर भण्डारीसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :
आन्तरिक अभियानका क्रममा तपाई जिल्लामा हुनुहुन्छ, कार्यकर्ता कत्तिको ऊर्जावान् पाउनुभयो ? हाम्रो सञ्चालन कार्यविधिमा केही कमी कमजोरी भएको कारणले केही निराश भयजस्तो देखिन्छ। पार्टीमा केही साथीहरू अलमलमा परेको जस्तो देखिन्छ। उनीहरुलाई बाहिर आङ्कलन गरिएको छ। तर हाम्रो पार्टी नेता कार्यकर्ता सिद्धान्तप्रति इमानदार, पार्टीप्रतिको आफ्नो लगाव राख्छन्। यो पार्टी कार्यकर्ताको सिद्धान्त, इमानदारिता र समर्पणले बनेको हो। अहिलेसम्म कार्यकर्ता ऊर्जावान छन्। काम गरिरहेका कार्यकर्ताले व्यवस्थापकीय पक्ष कमजोर हुँदा यो सुधारको आवश्यकता देखिन्छ।
कांग्रेस बरालिएको र बहकिएको कहाँ हो ? २०४६ सालको परिवर्तनको नेतृत्व गरेर गणेशमान सिंहले पार्टी छोड्नु भयो। स्वयम् कृष्णप्रसाद भट्टराई (किसुनजी)ले पार्टी छोडेको घोषणा पत्रलाई स्मरण गर्दै यो पार्टीको मूल सिद्धान्त स्तम्भमा अगाडि बढेको भए राष्ट्रियता, स्वतन्त्रता, प्रजातन्त्र र समाजवाद उन्मुलन नीतिका साथ यो पार्टी निर्माण भएको हो। सैद्धान्तिक रूपमा पार्टीमा विचलन आएको छ। अब यसलाई विचार विश्लेषण गरेर आफ्नै पार्टीको पहिचानका साथ अगाडि जानुपर्छ भन्ने दृष्टिकोण हो।
अब नेपाली कांग्रेस बिपी कोइरालाले भने जस्तो प्रजातान्त्रिक समाजवादमा जाने हो कि, सत्ता साझेदार गठबन्धनले भने समाजवादको बाटोमा जाने हो ? नेपाली कांग्रेसको आर्थिक नीति भनेको बिपीले प्रतिपादन गरेको समाजवादी आर्थिक नीति हो। तर संविधानमा उल्लेख भएको समाजवाद उन्मुख आर्थिक नीति भनेको कम्युनिष्टको हो। संविधानमा व्यवस्था भइसकेपछि त्यसलाई नै महान् उपलब्धि भन्न थाल्यौँ भने हामी आफ्नो पार्टीको स्थापनाकालदेखिको कुरा भन्दा बाहिर गएर कम्युनिष्टको बाटोमा हिँड्न खोजेको जस्तो अवस्था हुन्छ। यो कुरालाई हामीले समयमा नै ध्यान दिएर मुलुकको पहिचान, धर्म संस्कार र संस्कृतिलाई आत्मसाथ गर्दै अगाडि बढ्नुपर्छ। यिनै विषयमा छलफल गरेर महासमितिको बैठकमार्फत एउटा निष्कर्षमा पुग्नुपर्छ।
गणतान्त्रिक धर्मनिरपेक्ष राष्ट्र कि गणतान्त्रिक हिन्दु राष्ट्र भन्ने विषयमा पनि कांग्रेसले अब कहिले निर्णय गर्ने ? हाम्रो नेतृत्वले नेपालको राजनीतिमा दुर्गामी रूपमा सकारात्मक प्रभाव पार्ने सिद्धान्त प्रतिपादन गरेको हो। तर हामी नेतृत्वमा आउँदा कमजोरी भएको छ। त्यसलाई सुधार गरेर अगाडि जानुपर्छ। राष्ट्रिय मेलमिलाप नीति बिपीले कुनै रहरले दबाबले ल्याउनु भएको होइन। त्यो मुलुकको हितको लागि प्रतिपादन गर्नुभएको हो। अहिले एक्लैएक्लै कसैको पनि बहुमत पुग्दैन। त्यसैले गठबन्धन गरेर अगाडि बढ्नु पर्ने बाध्यता छ। अब कांग्रेसले सनातन धर्म संस्कृतिको पक्षलाई ध्यान दिएर अहिलेको संघीय संरचनाको फेरि व्याख्या गर्नुपर्छ।
राजासहितको गणतन्त्रको परिकल्पना गरेको हो ? यो राजसंस्थाको बारेमा जनताले निर्णय गर्ने हो। तर सनातन धर्म, संस्कार र संस्कृतिलाई समाजवादी नीति अनुसार हामीले आत्मसाथ गर्नुपर्छ। संघीयताको सम्बन्धमा व्यापक असन्तुष्टि बढेको छ। आर्थिक समृवृद्धिको दृष्टिकोणले मात्र होइन राजनीतिक देशको राष्ट्रिय सुरक्षाको दृष्टिकोणले पनि यसले गम्भीर समस्या उत्पन्न गर्छ भन्ने किसिमका घटना परिवेश विकास भएका छन्। यसको बारेमा पनि फेरि विचार गर्नुपर्छ। विकास भनेको गाउँबाट सुरु हुनुपर्छ। संघीयता भन्ने शब्दमा कुनै विमति हैन। अहिलेको संरचना गलत छ भन्ने सन्दर्भमा कांग्रेस स्पष्ट हुनुपर्छ। राष्ट्रियताको संरक्षण, देशको पहिचान देशको सुरक्षा र देशको विकासको लागि अहिले हामीले अवलम्बन गरेको पद्धति उपयुक्त देखिएको छैन।
कांग्रेसलाई वामपन्थीले सिध्याउँदै लगेका छन् तर कांग्रेस उसैलाई काँधमा बोकेर हिडेँको छ ? हो। यो कुरालाई हामीले अब सुधार गरेनौँ भने कांग्रेस सङ्कटमा पर्छ। यसले गर्दा भोलि मुलुक झन् कमजोर हुन्छ। जसरी राजनीतिमा अर्थतन्त्रमा जति बाह्य चलखेल बढिरहेको छ त्यो अझ बढ्नसक्छ। सत्ताप्रतिको लोभ र लालचमा परेर आज मुलुक सङ्कटमा परेको कुरा मनन नगरेको कारणले यो अवस्था आएको हो। अब नयाँ ढङ्गले अगाडि जानुपर्छ।
तनहुँ १ मा उपचुनावमा पाएको मतको परिणाम हेर्दा समग्रतामा समाजवादी राजनीतिक शक्ति २०४६ साल यता सत्तामा निरन्तर छन्। उनीहरूको जनधार खच्किराखेको छ। यसको निरन्तरता ८४ सालमा हुँदैन भन्ने आधार के छ ? तनहुँ १ को उपनिर्वाचनको कुरामा यो परिणाम आश्रयजनक थियो। नेपाली कांग्रेसका क्रियाशील सदस्य भएका साथीले पनि पार्टीको रुख चुनाव चिह्नमा भोट हालेनन्। त्यसपछि जहाँजहाँ कार्यकर्ताले अर्को चुनाव चिह्नमा मत हाले उनीहरुले तीन महिनामै गल्ती गरेको कुरा आत्मसाथ गरेका छन्। यो तीन महिनाको बीचमा हामीले गल्ती गरेका रहेछौँ। स्वर्णिम वाग्लेलाई मत दिएर गलत काम गरेको रहेछौँ भनेका छन्। हामीले पनि कमजोरी र समस्या आत्मसाथ गरेका छौँ।
यसरी पार्टीको भविष्यलाई अचानोमा पार्ने केन्द्रीय तहका नेता नै होइनन् र ? प्रतिबन्धित कालदेखि नै कांग्रेस भएर काम गरेकाको अभिलेखसम्म भएको छैन। नयाँ परिवेशमा सजिलो राजनीतिक वातावरण भएको बेलामा नयाँ मान्छे आएका छन्। जसको कारणले द्वन्द्व पनि आएको छ। त्यसलाई नेतृत्वले आत्मअनुभूति गर्नुपर्छ।
हिजो नेपाली कांग्रेसले १४ देखि १५ वर्षका युवालाई आकर्षण गर्न सकेन। आज पनि १४ देखि १५ वर्षका युवालाई २०८४ सालको चुनावका लागि आकर्षण गर्न किन सकेको छैन ? युवा वा वृद्ध जुनै तहका मतदातालाई हामीप्रति विश्वास जगाउन लागेका छौँ। अब कांग्रेसले बहुमत पाउँछ। धेरै गल्ती भएका छन्। हिजो एमालेले कांगेसलाई प्रधान शत्रु भनेर दस्तावेजमा लेख्यो। १० वर्षे द्वन्द्वको बेलामा माओवादीले पहिलो शत्रु मान्यो। दलहरूको बीचमा एक विश्वास नभएको कारणले थप सङ्कटको अवस्थामा पुगेको छौँ। अब यो सबैलाई सुधार गरेर जानुपर्छ।
८८ सिटको कांग्रेससँग कार्यकर्तालाई आकर्षित गर्ने नारा के छन् ? पार्टीको सङ्गठन हल्ला गरेर हुने होइन। निष्ठावान् कार्यकर्ता चाहियो। गठबन्धन गरेर कांग्रेस अरु चुनाव चिह्नमा लागेको छ। अब यस्ता खेल बन्द गर्नुपर्छ। नियोजित रूपमा नेपालको राष्ट्रियतालाई कमजोर पार्ने, नेपालको राजनीतिमा अस्थिरताको वातावरण बनाउने, नेपालीलाई मिल्नै नदिने विदेशी शक्ति मौलाएका छन्। त्यसैले हामीले नै बनाएर मात्र यो देश बन्छ भन्ने कुराको निष्कर्षमा हामी पुग्दैनौँ। हामीसँग कांग्रेस निर्माण गर्ने थुप्रै आधार छन्। त्यसलाई अगाडि लिएर गएमा कांग्रेसतर्फ आकर्षण अवश्य बढ्नेछ।