देश/प्रदेश

पहिरोले मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

By खबरहब

August 08, 2023

बागलुङ– अबिरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध भएका छन् ।

अबिरल वर्षाका कारण लोकमार्गको बागलुङ–बुर्तिबाङ सडकखण्डअन्तर्गत काठेखोला गाउँपालिका–६ इनारपानी र करिडोरको बागलुङ नगरपालिका–गलुवामा पहिरो झर्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।

मध्यपहाडी लोकमार्गमा एकतर्फी सडक सञ्चालन गर्ने तयारी गरिएको उनको भनाइ छ । गलुवाको पहिरो हटाएर करिडोर सञ्चालन गर्न जेसिबी पठाए पनि त्यसले सडक खुलाउन नसकेको प्रहरी नायब उपरीक्षक केसीले बताए । उक्त सडक खुलाउन ठूलो डोजर नै पठाउनुपर्ने भएकाले केही समय लाग्ने जनाइएको छ ।

करिडोर अवरुद्ध हुँदा जिल्ला सदरमुकामबाट दक्षिण बागलुङको जैमिनी, बलेवा, बरेङलगायतका क्षेत्र सीधा यातायात हुनसकेको छैन भने लोकमार्ग अवरुद्ध हुँदा बुर्तिबाङ, गलकोटबाट काठमाडौँ, पोखारा, चितवन, बागलुङलगायतका ठाउँमा जाने गाडी सडकमै रोकिएका छन् ।

बागलुङ बजारबाट पश्चितर्फ सञ्चालन हुने गाडी पनि सडकमै ठप्प भएका छन् भने यात्रु बीचबाटोमा अलपत्र परेका छन् ।