प्रतिकात्मक तस्वीर

अन्तर्राष्ट्रिय

ईश्वरको निन्दा गरेको आरोपमा पाकिस्तानमा एक जना इसाई पक्राउ

By खबरहब

August 08, 2023

इस्लामावाद‍- ईश्वरको निन्दा गरेको आरोपमा पाकिस्तानमा एक जना इसाई धर्मावलम्बी पक्राउ परेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तस्थित सर्गोधा सहरबाट ईश्वरको निन्दा गरेको आरोपमा प्रहरीले ३५ वर्षीय इसाई धर्मावलम्बी जाकी मसिहलाई पक्राउ गरेको हो ।

उनीविरुद्ध पाकिस्तनको कठोर मानिने ईश निन्दा कानूनको धारा २९५–ए र धारा २९८ अनुसार कारवाही प्रक्रिया अघि बढाइएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । उनले फेसबुकमा ईश्वरको निन्दा गर्ने सामग्री शेयर गरेको भन्दै स्थानीय मुहम्मद अवैसले उजुरी दर्ता गराएपछि प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका जाकी मसिहको परिवारले भने एक मुसलमानले लेखेको सामग्री शेयर गरेकै भरमा उनलाई पक्राउ गरिएको दाबी गरेको छ । उनको परिवारले लामो समययता जग्गाको निहुँमा जारी विवादलाई लिएर जाकी मसिहलाई फसाएको आरोप लगाएको छ ।

पछिल्लो समय पाकिस्तानमा धार्मिक एवम् साम्प्रदायिक अल्पसङ्ख्यकलाई लक्षित गरी ईश निन्दाको आरोपमा पक्राउ गर्ने र उनीहरुलाई दमन गर्ने क्रम बढेको बताइएको छ ।