देश/प्रदेश

दन्त सेवाले बिरामीलाई सजिलो

By खबरहब

September 08, 2023

बलेवा– बलेवास्थित बागलुङ नगर अस्पतालमा अबदेखि नियमित रुपमा दन्त शिविर, नाक, कान, घाँटी, सुरक्षित सुत्केरी सेवा र प्रसूति प्रतीक्षा घरसमेत सञ्चालनमा आउने भएको छ ।

अस्पतालले विभिन्न सङ्घसंस्थाको सहकार्यमा अस्पताललाई बहुसेवा दिने प्रकारको बनाउन लागेको हो । हाल अस्पतालको भवन निर्माणाधीन भए पनि तत्कालीन स्वास्थ्य चौकीकै भवनमा अस्पताल सञ्चालन गरिएको छ । सो अस्पतालमा हाल दुई मेडिकल अधिकृत, एक स्टाफ नर्स, एक हेल्थ असिस्टेन्टसहित नौ स्वास्थ्यकर्मी कार्यरत छन् । उनीहरुले मात्र सबै सेवा प्रवाह गर्न नपुग्ने भएपछि दाता तथा सहकार्य गर्ने संस्था खोजिएको नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए । 

पहिलो चरणमा हप्तैपिच्छे दन्त शिविर र प्रसूति प्रतीक्षा घर भने सञ्चालनमा आइसकेको छ । जिभाय नेपालको सहकार्यमा नगर अस्पताल बलेवाले दन्त क्लिनिक अभियान चलाएको हो । ग्रामीण स्वास्थ्य सुधार परियोजना सञ्चालन गरेको भीमापोखरा युवा क्लब र फेयरमेड फाउण्डेसनले सुरक्षित सुत्केरीका लागि प्रतिक्षा घरका लागि आवश्यक सामग्री तथा उपकरण सहयोग गरेको हो । 

एउटा कोठामा दुई गर्भवती र दुई कुरुवा बस्न मिल्ने गरी व्यवस्थापन गरिएको छ । सामग्री र उपकरणपछि सुरक्षित सुत्केरी सेवाको अभियानमा साथ पुगेको अस्पतालका मेडिकल अधिकृत गरिमा खनालले बताए। संस्थाले बेवी वार्मर मेसिन दिएकाले जाडो मौसममा पनि सुरक्षित सुत्केरीसहित शिशुको सुरक्षा गर्न सकिने भएको छ ।

त्यस्तै जिभाय नेपालले दन्त ‘चियर’सहित उपकरण र सामग्री सहयोग गरेको हो । साथै हरेक साता एक–एक दन्त चिकित्सक आएर यहाँ सेवा दिने व्यवस्थापन गरिएको हो । बिहिबार एक कार्यक्रमका बीच नगर प्रमुख वसन्तकुमार श्रेष्ठले दुवै सेवाको शुभारम्भ गरे ।

श्रेष्ठले उक्त अवसरमा नगर अस्पताललाई क्रमशः विस्तार गर्दै आम नागरिकको विश्वसनीय बनाउने बताएका छन् । त्यसका लागि पहिलो चरणमा भवन निर्माण सक्ने, त्यसपछि उपकरणहरूको जोहो गर्दै चौबीसै घण्टा सेवा दिने प्रकारको बनाइने बताए । ‘अहिले त सामान्य जस्तो छ, तर केही समयमै सेवा प्रवाह बढाएर नागरिकको स्वास्थ्य सुधारमा पहल गर्छौं’, श्रेष्ठले भने , ‘सामान्य उपचारका लागि नागरिकले हजारौँ लाखौँ खर्चने पद्धति अब अन्त्य हुनुपर्छ ।’ 

दैनिक ३५ देखि ५० बिरामीको उपचार भइरहेको नगर अस्पतालमा दाँतको समस्या भएकाहरू पनि धेरै आउने गर्छन् । ऊनीहरूको सेवाका लागि निभाय नेपालले सहयोग गरेको हो । यो संस्थाले बलेवाका वडा नं १२, १३ र १४ मा विद्यालय तहमा पनि सयौँ बालबालिकाको दन्त परीक्षण, निःशुल्क रुपमा दाँत माझ्ने ब्रस र मन्जन वितरण गर्नाका साथै मुख स्वास्थ्यका लागि अभियान चलाइएको छ । मुख स्वास्थ्य परियोजना नै सञ्चालन गरेर स्वास्थ्य क्षेत्रको सुधारमा काम गरिएको कार्यक्रम निर्देशक सरस्वती पुरीले बताएका छन् ।