अन्तर्राष्ट्रिय

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

By खबरहब

September 08, 2023

आज भदौ २२ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर ८ २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

उच्च अधिकारीहरूको सम्पत्तिमा पारदर्शिताको लागि युक्रेनी नागरिकको आग्रह युक्रेनका दशौं हजार नागरिकले राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अधिकारीहरूको सम्पत्तिको अनलाइन घोषणामा सार्वजनिक पहुँच सुनिश्चित गर्न माग गर्दै एक निवेदनमा हस्ताक्षर गरेका छन् ।

सार्वजनिक व्यक्तित्वहरूलाई गिरफ्तार गर्ने वा बर्खास्त गर्ने थुप्रै भ्रष्टाचार प्रकरणबीच यो आक्रोश आएको छ । युक्रेनी राष्ट्रपतिको वेबसाइटमा राखिएको निवेदनमा भनिएको छ, ‘अहिले युक्रेनी नागरिकसँग सरकारी सम्पत्ती लुकाउनु भनेको देशमा भएको सम्पूर्ण भ्रष्टाचारलाई ढाकछोप गर्नु हो ।’

बुधबार प्रकाशित उक्त निवेदनमा ८३ हजारभन्दा बढी मत प्राप्त भइसकेको छ, जसमा राष्ट्रपतिले विचार गर्नुपर्ने २५ हजार सङ्ख्याको ‘थ्रेसहोल्ड’ पार भएकोे छ ।

यस याचिकामा राष्ट्रपतिले यसै हप्ता दोस्रो पटक संसदले पारित गरेको कानूनको मस्यौदामा भिटो लगाउन आग्रह गरिएको छ, जसले अधिकारीहरूको लागि अनिवार्य इलेक्ट्रोनिक सम्पत्ति घोषणालाई पुनः स्थापित गर्नेछ । तर उनीहरूलाई अर्को एक वर्षको लागि सार्वजनिक आँखाबाट टाढा राख्नेछ ।

निवेदनमा भनिएको छ, ‘नागरिक र पत्रकारहरू अधिकारीहरूको कार्यको अनुगमन गर्ने र भ्रष्टाचारविरुद्धको मुख्य सुरक्षा कवचबाट बञ्चित भएका छन् ।’

कीएभ इन्टरनेसनल इन्स्टिच्युट अफ सोसियोलोजीले जुलाईको अन्त्यमा सार्वजनिक गरेको एक सर्वेक्षणअनुसार ८९ प्रतिशत युक्रेनी नागरिकले भ्रष्टाचारलाई गम्भीर समस्या मानेका छन् ।

युक्रेनी गैरसरकारी संस्था भ्रष्टाचारविरूद्धको प्रतिकार्य केन्द्रले भनेको छ, ‘यो कानुनले जनता र पत्रकारलाई अधिकारीहरूलाई नियन्त्रण गर्न अनुमति दिनेछैन ।’

हालैका महिनाहरूमा धेरै भ्रष्टाचारका काण्डहरूले रक्षा मन्त्रालयलाई प्रभावित बनाएको छ । यसै प्रकरणसँग नाम जोर्डिपछि रक्षामन्त्री ओलेक्सी रेजनिकोभले राजीनामा दिएका छन् ।

गत बिहीबार अर्बपति व्यवसायी इगोर कोलोमोइस्कीलाई युक्रेनको भ्रष्टाचार विरोधी निकायले आफूले स्थापना गरेको बैंकबाट रकम हिनामिना गरेको आरोप लगाएको थियो । गत वर्षको फेब्रुअरीमा रूसले आक्रमण गरेयता जेलेन्स्कीले युक्रेनमा भ्रष्टाचारविरुद्ध लड्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् ।

चामलको मूल्य १५ वर्षयताकै उच्च विन्दुमा : एफएओ प्रमुख निर्यातक भारतले केही धानको विदेशी बिक्रीमा प्रतिबन्ध लगाएपछि अगष्ट महिनामा विश्वव्यापी धानको मूल्य १५ वर्षयताकै उच्च विन्दुमा पुगेको खाद्य तथा कृषि सङ्गठन एफएओले शुक्रबार जनाएको छ ।

एफएओले एक मासिक प्रतिवेदनमा भनेको छ,’अगस्टमा विश्वव्यापी खाद्य पदार्थको मूल्यमा कमी आए पनि चामलको मूल्य अघिल्लो महिनाको तुलनामा ९.८ प्रतिशतले बढेको छ, जसले भारतले इन्डिका सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाएपछि व्यापारमा आएको अवरोधलाई प्रतिबिम्बित गर्दछ ।’

संयुक्त राष्ट्र एजेन्सीले भनेको छ, ‘प्रतिबन्धको अवधिको बारेमा अनिश्चितता र निर्यात प्रतिबन्धहरूको चिन्ताको कारण आपूर्ति–श्रृङ्खलामा प्रमुख निर्यातकहरूले भण्डारणलाई बलियो बनाउन, पुनः वार्ता गर्न वा मूल्य प्रस्तावहरू गर्न बन्द सम्झौताहरू गरे, जसले गर्दा अधिकांश व्यापारलाई सानो आयातनमा सीमित गर्‍यो ।’

कोभिड महामारी, युक्रेनमा जारी युद्ध र एल निनो मौसमी घटनाले उत्पादनको स्तरमा पारेको प्रभावका कारण अन्तर्राष्ट्रिय बजारमा चामलको मूल्य बढेको हो ।

भारतले जुलाईमा गैर–बासमती सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । भारतले गैर–बासमती सेतो चामलको कूल उत्पादनमध्ये लगभग एक चौथाई उत्पादन गर्छ ।

उपभोक्ता मामिला तथा खाद्य मन्त्रालयले उक्त कदमले ‘पर्याप्त उपलब्धता सुनिश्चित गर्ने’ र ‘घरेलु बजारमा मूल्यवृद्धिलाई कम गर्ने’ बताएको थियो ।विश्वको कुल चामल ढुवानीमा ४० प्रतिशतभन्दा बढी हिस्सा भारतले ओगटेको छ ।

तथ्याङ्क मुल्याङ्कन फर्म ग्रो इन्टेलिजेन्सले जुलाईमा प्रतिबन्धले अफ्रिकी देशहरू टर्की, सिरिया र पाकिस्तानलाई असर गर्ने चेतावनी दिएको थियो । यी सबै राष्ट्रहरू पहिले नै उच्च मुद्रास्फीतिसँग संघर्ष गरिरहेका थिए ।

विश्वको सबैभन्दा ठूलो चामल आयातकर्तामध्येको एक फिलिपिन्सले बिहीबार भियतनामसँग चामल खरिदका लागि पाँच वर्षे सम्झौता गरेको छ ।

एफएओका अनुसार, भारत र चीनसँग अघिल्लो बर्ष जस्तै यस परिमाणको लगभग तीन चौथाई हिस्सा रहेकाले विश्वमा चामलको मौज्दात १९ करोड ८१ लाख टन पुग्ने अनुमान गरिएको छ ।

यो सङ्ख्या सोही अवधिमा धान खपत हुने अनुमानको करिब ३८ प्रतिशत हो ।

तर बाँकी विश्वसँग रहेको धानको मौज्दातमा लगातार दोस्रो पटक सङ्कुचन आउने अनुमान गरिएको छ । एल निनोले अर्को बालीमा पनि नकारात्मक प्रभाव पार्न सक्छ ।

प्रमुख खाद्यान्न उत्पादक राष्ट्र रुस र युक्रेनबीच गत वर्ष युद्ध सुरु भएपछि बढेको विश्वव्यापी खाद्य वस्तुको मूल्य क्रमशः घट्दै गएको अवस्थामा भारतीय प्रतिवन्धले चामलको फेरि उच्च माग आएको हो ।

विश्वका प्रभावशाली नेताहरू नयाँ दिल्लीमा भेला हुँदै

भोलि शनिबार र पर्सी आइतबार भारतको राजधानी नयाँ दिल्लीस्थित प्रगति मैदानमा अयोजना हुने युरोपेली सङ्घसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रको अन्तर सरकारी सङ्गठन जी २० शिखर सम्मेलनमा भागलिन विश्वका शक्तिराष्ट्रका नेताहरू भेला भइरहेका छन् ।

पन्ध्र वर्षअघिको आर्थिक सङ्कटका बेला विश्व अर्थतन्त्रलाई व्यवस्थापन गर्ने उद्देश्यले उदीयमान अर्थतन्त्रको साझा सङ्गठनका रुपमा स्थापना भएको जी २० को नयाँ दिल्ली संस्करणमा सहभागी हुने विभिन्न देशका राष्ट्रपति र प्रधानमन्त्री सवार विमानहरू इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण भइरहेका छन् ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी चिनफिङ अनुपस्थित हुने शिखर सम्मेलनमा कुनै मूलमुद्दामा सहमति जुट्नेमा आशङ्का व्यक्त गरिएको छ । शिखर सम्मेलनको पूर्वसन्ध्यामा साझा दस्तावेज तयार गर्ने तथा सहमति जुटाउन भारतलाई धौधौ परेको छ । शीर्ष नेतृत्वले अनुमोदन एवं हस्ताक्षर गरी सम्मेलनको अन्त्यमा जारी गर्ने संयुक्त वक्तव्यमा अझै ठोस सहमति जुट्न सकेको छैन ।

चीनका राष्ट्रपतिको अनुपस्थितिको कारण खुलाइएको छैन । अमेरिकी नेतृत्वको यो समूहलाई असफल पार्दै जी २० स्थानमा आफू अनुकूल अर्को संस्था बनाउने आशय बेइजिङले व्यक्त गर्दै आएको छ । जी २० शिखर सम्मेलनका बेला चिनियाँ नेता सी भेनेजुएला र जाम्बियाका राष्ट्रपतिको स्वागतमा व्यस्त भइरहेका छन् ।

युक्रेनमाथि हठात् आक्रमण गरेर युद्ध अपराधको आक्षेप खेपिरहनुभएका रुसका राष्ट्रपतिको अन्तर्राष्ट्रियस्तरमा निन्दा र कूटनीतिक भर्त्सना भएको छ तर उनले आफ्ना सहयोगीका साथमा युक्रेन युद्ध आवश्यक एवं औचित्यपूर्ण भएको दाबी गर्दै आएका छन् ।

बेलायतका प्रधानमन्त्री ऋषि सुनक जी २० शिखर सम्मेलनमा फेरि पनि रुसी राष्ट्रपतिले आफ्नो अनुहार देखाउन नचाहेको बताउँछन् । आफ्नो कूटनीतिक वहिर्गमन एवं राष्ट्रपति भवनको एकान्तमा बस्नुपर्ने परिस्थितिको निर्माण उनी स्वयमले गरेको प्रधानमन्त्री सुनक उल्लेख गर्छन् ।

जी २० का अन्य नेताहरूले भने सम्मेलनमा आफूहरू उपस्थित भएर रुसी नेता पुटिनले निम्त्याएको विनाशको क्षतिपूर्तिका निम्ति सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शिखर सम्मेलनमा भाग लिन एयरफोर्स वानमा देश छाडिसकेका अमेरिकी राष्ट्रपति जो बाइडेनले जी २० ले अझै विश्व अर्थव्यवस्थामा योगदान गर्नसक्ने बताएका छन् । यद्यपि चीनले अमेरिकी कम्पनी आइफोनको उत्पादन आइफोनमाथि प्रतिबन्ध लगाउने तयारी गरेको अफवाह फैलिरहेको छ । राष्ट्रपतिका साथ एयरफोर्स वानमा रहेका अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले ती अफवाहमा कुनै सत्यता नरहेको बताएका छन् ।

जी २० ले अन्तरराष्ट्रिय वित्तीय स्थायित्व, जलवायु परिवर्तनका दुष्प्रभाव न्यूनीकरण र दिगो विकासजस्ता विश्वव्यापी अर्थतन्त्रसँग सम्बन्धित प्रमुख विषयलाई केन्द्रमा राखेको छ । जी २० मा अर्जेन्टिना, अस्ट्रेलिया, ब्राजिल, क्यानडा, ९युरोपेली सङ्घका सदस्य फ्रान्स, जर्मनी र इटाली० भारत, इण्डोनेशिया, जापान, दक्षिण कोरिया, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, टर्कीए, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिका सदस्य छन् ।

अफ्रिकी मुलुक मालीमा आतंकवादी हमला, ६४ जनाको मृत्यु

अफ्रिकी मुलुक मालीको उत्तरपूर्वी क्षेत्रमा इस्लामिक लडाकुहरूले सैनिक शिविर र यात्रुवाहक डुङ्गामा आक्रमण गर्दा ६४ जनाको मृत्यु भएको छ ।

मालीको अन्तरिम सरकारका अनुसार आतंकवादीहरूले दुई फरक ठाउँमा आक्रमण गरेका थिए । आतंककारीहरूले नाइजर नदीमा रहेको टिम्बक्टु डुङ्गा र बाम्बामा रहेको सैन्य शिविरमा आक्रमण गरेका थिए।

मालीको गाओ शहरबाट मोप्ती जाने नाइजर नदीमा डुङ्गाको यात्रा गरिरहेको बेला उग्रवादीहरूको आक्रमणमा परी ४९ जना मारिएका थिए भने सैन्य शिविरमा भएको आक्रमणमा १५ जना सैनिक मारिएको खबर छ ।

दोहोरो फायरिङमा झण्डै ५० जना लडाकु मारिएको माली सरकारले दाबी गरेपनि यसको स्वतन्त्र पुष्टि भने भएको छैन । डुङ्गामा सवार सर्वसाधारण मारिएपछि मालीको जुन्ता सरकारले तिन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ ।