देश/प्रदेश

तुइनको डोरी चुडिँदा एकजना कर्णाली नदीमा बेपत्ता

By खबरहब

October 08, 2023

हुम्ला– हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकास्थित कर्णाली नदी पार गर्ने क्रममा तुइनको डोरी चुडिँदा एक जना बेपत्ता भएका छन् ।

सर्केगाड–२ रिपस्थित ल्याप्चेको (खडीखेत) घाटमा शनिबार साँझ तुइन तर्ने क्रममा ३८ वर्षीय मक्करसिंह नेपाली कर्णाली नदीमा खसेर बेपत्ता भएका हुन् । उनी मुगु जिल्ला सोरु गाउँपालिका–५ नेरगाउँका रहेको बताइएको छ ।

कर्णाली करिडोरको ग्युसी छारे खण्डको छारे भिरमा सडक निर्माण गर्न मुगुबाट आएका नेपाली काम सकेर बासस्थानतिर जाने क्रममा शनिबार ल्याप्चेमा रहेको (खडीखेत) घाटमा तुइनबाट खसेर बेपत्ता भएका हुन् ।

कर्णाली करिडोरको हुम्ला खण्डमा पर्ने लालीबगर डुल्ली कुनको छारे क्षेत्रमा विभिन्न १८ निर्माण समूहले काम गर्दै आएका थिए ।