तस्वीर- एएफपी

अन्तर्राष्ट्रिय

इजरायलद्वारा हमासविरुद्ध औपचारिक रुपमा युद्धको घोषणा

By खबरहब

October 08, 2023

जेरुसलेम- इजरायलले प्यालेस्टाइनी लडाकु समूह हमासविरुद्ध युद्धको औपचारिक घोषणा गरेको छ ।

प्यालेस्टाइनी लडाकुले इजरायली भूभागमा घुसपैठ गरी आक्रमण गरेपछि इजरायल सरकारले आइतबार हमासविरुद्ध युद्धको औपचारिक घोषणा गर्ने निर्णय गरेको हो । यसअघि शनिबार नै त्यहाँका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो मुलुक युद्धको अवस्थामा रहेको जनाएका थिए ।

इजरायलको आधारभूत कानूनको धारा ४० अनुसार युद्धको औपचारिक घोषणा गरिएको अमेरिकी टेलिभिजन नेटवर्क सीएनएनले जनाएको छ । प्रधानमन्त्री नेतान्याहूले प्यालेस्टाइनी लडाकुविरुद्ध बदला लिइने दृढता व्यक्त गरेका छन् । शनिबार सबेरै गाजा क्षेत्रमा रहेका प्यालेस्टाइनी लडाकुले व्यापक रकेट आक्रमण गर्दै इजरायली भूभागमा घुसपैठ गरेका थिए ।

आक्रमणका क्रममा हालसम्म ६ सयभन्दा धेरै इजरायलीको मृत्यु भएको र अन्य हजारौँ घाइते भएको जनाइएको छ । अन्य सयौँ बेपत्ता पारिएका छन् । बेपत्ता भएकाहरुलाई प्यालेस्टाइनी लडाकुले अपहरण गरी गाजा क्षेत्रतर्फ लगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

आक्रमणको प्रतिकारस्वरुप इजरायलले गाजा क्षेत्रमा हवाई आक्रमण गरेको छ । हवाई आक्रमणका क्रममा गाजा क्षेत्रमा ३ सयभन्दा धेरै प्यालेस्टाइनीको मृत्यु भएको सीएनएनले जनाएको छ ।

इजरायल र प्यालेस्टाइनी लडाकुबीच जारी युद्धलाई सन् १९७३ मा इजिप्ट र सिरियाले संयुक्त रुपमा इजरायलविरुद्ध सुरु गरेको ‘योम किपुर युद्ध’ यताकै सबैभन्दा घातक घटनाका रुपमा लिइएको छ ।

यसअघि आइतबार नै इजरायलको सुरक्षा परिषदले हमासविरुद्ध आक्रमणको तयारी गर्न त्यहाँको सेनालाई निर्देशन दिएको थियो । सुरक्षा परिषदको निर्देशनअनुसार गाजाको सीमा क्षेत्रमा थप ४ बटालियन सैनिक तैनाथ गर्ने तयारी गरिएको छ । त्यहाँ यअसघि नै ३५ बटालियन सैनिक तैनाथ छन् ।