नेकपा (एकीकृत समाजवादी)ले आन्तरिक तयारी नपुगेको भन्दै माघ १४ देखि १८ सम्म गर्ने भनेको पार्टीको महाधिवेशन जेठ ३ देखि ७ गतेसम्म गर्ने निर्णय गरेको छ। तय भइसकेको पार्टी महाधिवेशन किन जेठमा पुग्यो ? नेपालको राजनीतिमा समाजवादी पानी किन कमजोर बन्दै गएको छ ? सत्ता गठबन्धनले किन प्रभावकारी काम गर्न सकेन ? यी र यस्तै विषयमा केन्द्रित भएर समाजवादीका प्रवक्ता उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडासँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :
मिति तय भइसकेको तपाईंहरुको महाधिवेशन सरेपछि विभिन्न टिकाटिप्पणी भइरहेका छन्। महाधिवेश किन सर्याे ? टिकाटिप्पणी भनेको सधैं हुन्छ। हामीले हाम्रो पार्टीको आवश्यकताको कारणले महाधिवेशन पर सारेका हौँ। जाजरकोटमा भूकम्पका कारण जनता अप्ठ्यारो स्थितिमा छन्। हामीले यो समयमा राहत दिनुपर्छ। राहत वितरण गर्नुपर्ने समयमा महाधिवेशनका कुराहरू लिएर जानु अप्ठ्यारो भयो। समाजवादी जागरणका क्रममा पार्टी कार्यकर्ताले व्यापक रूपमा सङ्गठन सुदृढीकरण गर्नुपर्ने विषयमा धेरै दबाब दिएपछि यता ध्यान केन्द्रित गरेका हौं। माघ ११ गते राष्ट्रिय सभाको चुनावलाई तयारी गर्न पनि हामीले महाधिवेशन सार्नुपर्ने भएको हो। माघ १४÷१५ मा राष्ट्रिय महाधिवेशन गर्न नसक्ने भएपछि जेठमा सार्ने निर्णय भएको छ।
तयारी नपुगेकै हो ? तयारी नपुगेको पनि हुनुसक्छ। पार्टी सङ्गठन सुदृढीकरणका लागि महाधिवेशनलाई भन्दा सङ्गठन सुदृढीकरणलाई जोड दिनु आजको आवश्यकता देखिएकाले यसमा लागेका हौँ।
पार्टी भित्र नेतृत्व र सदस्यताको कमी भएर पो महाधिवेशन सार्नुभएको हो कि ? एक सय वा ५० जनाले पार्टी छोडर गएका छन्। १५/२० हजार मानिस त आएका पनि छन्। राजनीतिमा यो चलिरहन्छ। यसमा हामी आत्तिएका छैनौँ। यसै बिचमा देशका सबै ठाउँमा जनताका मागलाई माथि उठाउन जसरी समाजवादको चेतनालाई विस्तार गर्न हामी दौडियौँ। हाम्रो पार्टी सङ्गठनलाई सुदृढ गर्न प्रशस्त आधार छन्। पुँजीवादी अनि समाजवादी दुवैको विकल्प मान्छेले खोजेका छन्। जति कार्यकर्ताले सकारात्मक ऊर्जा दिनुभएको छ त्यसबाट हामी निरन्तर अगाडि बढेका छौँ।
राजनीतिक हिसाबबाट समाजवादी मोर्चामा कहाँबाट आकर्षण देख्नु हुन्छ ? समाजवादी मोर्चा पार्टी जस्तो होइन। प्रत्येक दिन बैठक बसेर नयाँ सङ्गठन बनाउँदै हिँड्ने प्रकारको सङ्गठन होइन। यो राजनीतिक दलहरूको बिचमा एकता कायम गर्ने उद्देश्यले, एजेन्डामा एकरूपता आओस् र संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न सकियोस भनेर एक ठाउँमा उभिन बनेको मोर्चा हो। सरकारलाई प्रभावकारी बनाउन सकियोस् भनेर हामीले सँगसँगै हिँड्ने प्रयास गरेका हौं।
आजको मितिमा सरकारका कामबाट सन्तुष्ट हुनुहुन्छ ? एउटा राजनीतिक परिवारको रूपमा सरकार चलेको छ। प्रधानमन्त्री वा ठुला पार्टीका नेताले गरेका काममा बनेका नीति बजेटहरूमा हाम्रा धेरै असन्तुष्टि छन्। तर यो सरकार आजको दिनको आवश्यकता हो। यसकारण संविधानको एउटा धारामा टेकेर बनाएको सरकारलाई हामीले अगाडि बढाउनुपर्छ भनेर साथ दिएका छौँ। सरकारले राम्रो काम गर्याे कि गरेन भन्ने विषयमा प्रधानमन्त्रीले गर्न नसकेका काम हामी हरेकले महसुस गरेका छौँ। आम जनतालाई सन्तुष्ट बनाउन सरकार स्वयम्ले आफ्ना कुरा स्वीकारेको बेलामा हाम्रो आश मरेको छैन। सरकारलाई यो भन्दा प्रभावकारी बनाउन सकिने आधार छन्। जनतामा देखिएको असन्तुष्टिलाई स्वीकार गरेर सरकारले काम गर्नुपर्छ। संसदमार्फत् जनताका समस्या सरकारको माझमा पुर्याउने काम गर्दै आएका छौं। जायज मागलाई पुरा गर्ने र पुरा गर्न नसकेको कुरालाई जनताको माझमा यो कारणले पुरा गर्न सकिएन भनेर भन्न सक्ने वातावरण बन्दै गएको छ।
सरकार र संसदको काममा किन प्रभावकारिता देखिएन ? सरकारले एक वर्षको समयमा देशलाई सुशासन दिने प्रयास गरेको छ। प्रयास धेरै गरेको छ। प्रयास नभई प्रमाण तत्काल आउन सक्दैन। बाटोमा हिँड्न पनि समय लाग्छ। त्यसमा सरकार पनि जानकार छ। राम्रो गर्ने प्रयास गर्दा समय लम्बिन्छ। सबैले राम्रो गर्ने प्रयास गरेका छन् तर संरचनागत समस्या, प्रणाली, कानुनका समस्याका कारण ढिलो भएको हो। जनताको भावनालाई कदर गरेर संसदमा ल्याउनुपर्छ। समर्थन र विरोधलाई आत्मसाथ गर्नुपर्छ।
केही समय यताका घटनाक्रम हेर्दा सडकमा एउटा टोपी लगाएर हिँडिरहेको मान्छेलाई पनि सरकारले लगेर थुनेको छ। यसको जवाफ राज्यले दिनु पर्दैन ? यसमा कोरा राजनीतिक मानव अधिकारको मात्र कुरा गर्याे भने हरेक मान्छेले उत्तिकै स्वतन्त्रता प्राप्त गर्याे भन्ने हुन्छ। तर उसले स्वतन्त्रताको पालना गर्दा आफ्ना कर्तव्य पनि बिर्सनु हुँदैन। शान्ति सुरक्षाका कुराहरू प्रशासनले हेर्याे होला, शंका लागेर सोधपुछ गरेको हुनसक्छ। सोधपुछका लागि नियन्त्रणमा लियो भने त्यसलाई गलत ढंगले व्याख्या गर्नु हुँदैन। अनावश्यक झडप नहोस् भन्नका लागि सरकारले गरेको प्रयासलाई गलत व्याख्याले ढाक्नु हुँदैन।
हिजो केपी ओली सरकारमा हुँदा तपाईंकै पार्टीका नेता होइन, हामीले ल्याएको लोकतन्त्रमा बोल्न पाइन्छ भन्ने ? हामी नै सडकमा जाँदा अवरोध पुर्याएको त्यो बेलाको घटनाक्रममा कताबाट जान दिने र कुन क्षेत्रमा निषेध गर्ने भनेर गरेका कुराहरू पनि छन्। सरकार र जनताको बिचमा जब पक्ष र प्रतिपक्षको व्यवहार हुन्छ त्यो बेलामा राज्यले केही न केही प्रयास गर्छ। नागरिकले त्यसलाई तोड्नको लागि प्रयास गरिराखेको हुन्छ। त्यसलाई सम्पूर्ण समाप्त भयो भन्न मिल्दैन। कतै सार्वजनिक ठाउँबाट गरेका प्रदर्शनमा अराजकता हुन्छ भनेर त्यहाँ नगरौँ भन्न पाउनुपर्छ।
सरकार र नागरिकको बिचमा जब दबाबबाट कुनै माग पुरा गराउने प्रयास हुन्छ तब सरकारले कतै न कतै बल प्रयोग गर्छ। सरकार दबाबलाई रोक्न र कमजोर पार्ने प्रयासमा हुन्छ। नागरिकले पनि केही प्रयास गर्छन्। त्यस्तो बेला विभिन्न अन्तर विरोध हुन्छन्। त्यो अन्तरविरोध सम्पूर्ण लोकतन्त्रको समाप्ति हो भन्न मिल्दैन।
लोकतन्त्रको विरुद्धमा सडकमा झोसिएको झिल्को मान्नु हुन्न यसलाई ? लोकतन्त्रको विरुद्धमा कसैले झिल्को झोस्न सक्दैन। उसको आवाजले यस्तो दबाब महसुस गराउँछ जसले लोकतन्त्र आफैले समृद्ध हुन नयाँनयाँ बाटोहरू खोज्नुपर्छ। आज जसले सडकमा आवाज उठाउनु भएको छ यसले लोकतन्त्र सञ्चालन गर्ने सरकारलाई यति झकझकाएको छ कि मैले राम्रो गरेर उहाँहरूको आवाजलाई पुरा गर्नुपर्छ भन्नेतर्फ सरकार लागेको छ।
तपाईंहरूको पार्टीको एउटा कार्यक्रम स्थलमा मान्छे आएनन् भनेर अर्को स्थलमा सार्नु भएको छ। पूर्व राजा काहीँ कतै जाँदै छन् भन्यो भने हजारौँको भीड त्यहाँ लागेर त्यसलाई थेग्न प्रशासनलाई हम्मे हम्मे परिराखेको छ। यसलाई राजनीतिक पार्टीप्रतिको वितृष्णा नभन्ने ? हामीले मान्छे नभएर कार्यक्रम सारेका छैनौँ। राजा जहाँ जान्छन् त्यहाँ राजनीतिक दलहरूले साथ नदिएको भए त्यो भीड पनि बन्ने थिएन। ज्ञानेन्द्रलाई कुनै दल संस्थाले साथ दिएको छ। मानिसहरू जान सक्छन् राजाको यात्रामा। तर अब लोकतन्त्रलाई समाप्त गरेर तानाशाहीको समयमा लान सम्भव छैन।
यो बिचमा तीव्र राजनीतिक ध्रुर्वीकरण भएको छैन ? लोकतन्त्र नै मास्ने गरी आज ध्रुर्वीकरण भएको छैन। आज कोसिस भइरहेको छ। राजनीतिक ध्रुर्वीकरण भए राम्रो हुन्थ्यो। जातीय र धार्मिक ध्रुर्वीकरण गर्ने कोसिस भइरहेको छ। यसबाट भने हामी जोगिनुपर्छ। धर्म र जातलाई भूगोल क्षेत्र वा विभाजनकारी क्षेत्रबाट राजनीतिमा प्रवेश गराउने कुराबाट हामी जोगिनु आवश्यक छ।
राजनीतिक ध्रुर्वीकरण गर्ने हो भने कोही वामपन्थी होलान्, कोही दक्षिण पन्थी होलान् यस्ता ध्रुर्वीकरण हो भने वैचारिक ध्रुर्वीकरण हुन्छ। यसले मुलुकलाई गलत बाटोमा लाँदैन। तर जातीय र धार्मिक ध्रुर्वीकरण हुन थाल्यो भने देश गलत बाटोमा जान्छ।
तपाईंहरूको यो समाजवादी यात्रा राजनीतिक ध्रुर्वीकरणको अध्याय भयो त ? हामीले त नेपालमा सबैभन्दा पहिले संविधानमा लेखेको समाजवाद के हो ? त्यसमा प्रारम्भिक आधार कोर्ने हाम्रो आधार के हो ? भन्ने विषयमा मेचीदेखि महाकालीसँग सबै राजनीतिक दलहरूलाई शिक्षा दिँदै समाजवादी चेतनाको बिस्तार गर्न पहिलो अभियान सञ्चालन गरेको छौँ।
सत्ता र संसद एउटा यात्रा र जनताको बिचमा अर्को भ्रम कहिलेसम्म चल्छ ? संविधानको पालना गर्दा यस्तो हुन्छ। तर संसदमा लोकतन्त्रको पक्षधरसँग हाम्रो सहकार्य छ। हामी जोसँग कुरा गरिरहेको छौँ। दक्षिणपन्थी भने पनि राजनीतिमा प्रतिस्पर्धा हुन्छ। कुनै घटनाक्रम संसदीय गतिविधिसँग मिलेका हुन्छन्। यो यात्रा कहाँसम्म जान्छ भन्ने समयले देखाउँछ। हामी प्रत्येक राजनीतिक दलसँग प्रतिस्पर्धा गर्दै यो पार्टीलाई बलियो बनाउने कोसिसमा छौँ।